बारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा विवाद भएको छ ।
बैठकका क्रममा उत्पन्न विवादले उग्ररूप लिएपछि केही नेताहरूलाई कार्यकर्ताले बैठकस्थलबाट लखेटेका छन् ।
शनिबार कलैयामा आयोजित बैठकमा प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल तथा नेता चन्दन सिंह सहभागी भएका थिए ।
बैठकमा संस्थापक समूह र वर्तमान नेतृत्व पक्षबीच चर्काचर्की भएपछि अवस्था तनावपूर्ण बनेको सहभागीहरूले बताएका छन् ।
कार्यकर्ताहरूका अनुसार केही नेताले संस्थापक पक्षमाथि दबाब सिर्जना गर्न खोजेपछि विवाद बढ्दै गएको थियो ।
त्यसपछि आक्रोशित कार्यकर्ताले विरोध जनाउँदै ती नेताहरूलाई बैठकस्थलबाटै बाहिर निकालेका थिए ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रहरीले विवादमा परेका नेताहरूलाई सुरक्षा घेरामा राख्दै सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ ।
यसअघि रास्वपा बारा जिल्लाका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएको घटनापछि पार्टीभित्रको आन्तरिक विवाद झन् तीव्र बनेको बताइएको छ ।