ट्रेन्डिङ

मधेश सरकारको नयाँ समीकरणबीच आज मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुर। मधेश प्रदेश सरकारको राजनीतिक समीकरण फेरिएसँगै मुख्यमन्त्री कृष्णप्रसाद यादव आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन्।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा निर्णयका लागि प्रदेशसभा बैठक दिउँसो १ बजे बोलाइएको छ।

जनमत पार्टीले वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अवस्था बनेको थियो।

यसअघि जेठ १ गतेका लागि बोलाइएको बैठकमा विश्वासको मत लिने तयारी भए पनि सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि र समर्थन सुनिश्चित नभएकाले प्रक्रिया अघि बढ्न सकेको थिएन।

विशेषगरी जनता समाजवादी पार्टी नेपालले समर्थनबारे स्पष्ट निर्णय नगर्दा सरकार दबाबमा परेको थियो।

यता विश्वासको मत लिनुअघि नै मधेश प्रदेशको सत्ता समीकरणमा ठूलो फेरबदल गरिएको छ।

मुख्यमन्त्री यादवले जसपा नेपाललाई सरकारबाट बाहिर गर्दै नेकपा एमालेलाई सरकारमा सहभागी गराएका छन्।

यसक्रममा जसपा नेपालबाट सरकारमा रहेका तीन मन्त्रीलाई पदमुक्त गरिएको छ भने एमालेका मोहम्मद समिर लाई विनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको छ।

नयाँ समीकरणसँगै अहिले मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सहकार्य बनेको छ।

गठबन्धन परिवर्तनपछि मुख्यमन्त्री यादवले जनमत पार्टी र जसपा नेपालबाट सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा दिनसमेत आग्रह गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै