महोत्तरी । महोत्तरीको नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको स्याउ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार मनराशीसवा नगरपालिका–२ नजिकै गरिएको जाँचका क्रममा करिब ६ हजार किलोभन्दा बढी स्याउसहित तीन वटा पिकअप गाडी पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बल नेपालका अनुसार विशेष सूचनाका आधारमा गरिएको निगरानीका क्रममा प्रदेश ०२-०२-००१ च ०७२२, प्रदेश १-०४-००१ च ०४१४ र मधेश प्रदेश ०४-००१ च ०३८० नम्बरका सवारीसाधन फेला पारिएका थिए।
ती गाडीहरूमा जम्मा ३४५ कार्टुनमा राखिएको ६ हजार ९ किलोग्राम स्याउ लोड गरिएको अवस्थामा भेटिएको बताइएको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बरामद गरिएको स्याउ र गाडीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन भन्सार कार्यालयतर्फ पठाउने तयारी भइरहेको छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।