जनकपुर । प्रधानमन्त्री बालेन्द्र शाहले मधेश प्रदेशबाट निर्वाचित सांसदहरूलाई विशेष छलफलका लागि काठमाडौं बोलाएका छन्।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज दिउँसो सांसदहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यतालिका रहेको छ।
मधेश प्रदेशका ८ वटै जिल्लाबाट निर्वाचित सांसदहरूलाई आगामी आर्थिक वर्ष २०८२/०८३ मा तत्काल कार्यान्वयन गर्न सकिने कार्यक्रम तथा आयोजनाबारे परामर्श गर्न बोलाइएको जनाइएको छ।
शपथग्रहणपछि पहिलोपटक प्रधानमन्त्रीले मधेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूलाई लक्षित गर्दै छलफलका लागि राजधानी बोलाएको स्रोतले जनाएको छ।
सांसद हरि पन्तका अनुसार प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त सूचनाअनुसार सांसदहरू काठमाडौं आइपुगेका हुन्।
मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ३० जना तथा नेपाली कांग्रेस र नेकपाबाट एक/एक जना सांसद निर्वाचित भएका छन्।
रास्वपाबाहेक अन्य प्रत्यक्ष निर्वाचित सांसदहरू बैठकमा सहभागी हुन काठमाडौं पुगेका छन्।
यद्यपि, नेकपाका सांसद मातृका यादव ले भने आफू उक्त बैठकमा सहभागी नभएको बताएका छन्।
प्रधानमन्त्री शाहले मधेश केन्द्रित विकास कार्यक्रमलाई तीव्रता दिन र क्षेत्रीय प्राथमिकताबारे प्रत्यक्ष धारणा लिन यो बैठक आयोजना गरेको बुझिएको छ।