काठमाडौं । तीन जना पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिबारे अनुसन्धान प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को पत्रका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्ति स्रोत, चल-अचल विवरण तथा आम्दानीका आधारहरूबारे छानबिन सुरु गरेको हो।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, यही अनुसन्धानकै क्रममा आइतबार पूर्वमन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिइएको हो।
खड्कामाथिको अनुसन्धानका लागि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नै सीआईबीलाई औपचारिक पत्राचार गरेको बताइएको छ।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न सीआईबीले अदालतबाट म्याद लिने तयारी गरेको छ।
अनुसन्धान टोलीले सम्बन्धित पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिको स्रोत, लगानी र वित्तीय गतिविधिहरूको विस्तृत अध्ययन गर्नेछ।
विशेषगरी, भदौ २४ गते भएको प्रदर्शनका क्रममा भएको आगजनीपछि उनीहरूका निवास परिसरबाट जलेको अवस्थामा भेटिएका नगद रकमका टुक्राहरूले अनुसन्धानलाई थप गम्भीर बनाएको छ।
उक्त घटनामा देउवा र प्रचण्डका घरबाट जलेको विदेशी मुद्रा (डलर) तथा नेपाली रुपैयाँका अवशेष फेला परेका थिए भने खड्काको घरबाट पनि त्यस्तै प्रकारको रकम बरामद भएको थियो।
उक्त घटनासँग सम्बन्धित प्रमाण संरक्षणका लागि स्थानीय प्रशासनले विशेष सावधानी अपनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा बुढानीलकण्ठस्थित देउवाको निवास परिसरमा भइरहेको संरचना भत्काउने काम रोकिएको छ।
आगजनीपछि क्षतिग्रस्त भवन भत्काएर नयाँ निर्माण गर्ने तयारी भइरहेका बेला प्रशासनले अनुसन्धान नसकिँदासम्म यस्ता गतिविधि रोक्न आदेश दिएको हो।
प्रहरीले घटनास्थलमा काम गरिरहेका मजदुरहरूलाई समेत हटाएको छ र उक्त स्थानलाई नियन्त्रणमा राखेको छ।
यसअघि नै जलेको अवस्थामा फेला परेको रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले संकलन गरी सुरक्षित राखिसकेको ।