वीरगन्ज । वीरगन्ज महानगरपालिकामा घरेलु हिंसाका घटना धेरै भइरहेको पाइएको छ ।
पर्सा प्रहरीले सोमबार सार्वजनिक गरेको फागुन महिनाको प्रगती विवरणमा सबै भन्दा बढी वीरगन्ज महानगरपालिकामा घरेलु हिंसाका घटना भएको तथ्यांक सार्वजनिक भएको हो ।
पर्सा प्रहरीका अनुसार जिल्लामा ४ दर्जन घरेलु हिंसाका घटना भएका छन् । प्रहरीले सार्वजनिक गरेको फागुन महिनाका प्रगती विवरणमा ४८ वटा घटना घरेलु हिंसाको भएको देखिएको छ ।
जिल्लाको १४ वटा पालिकामा गरी ४८ वटा घरेलु हिंसाका घटना भएको पर्सा प्रहरी प्रमुख (एसपी) सुदिपराज पाठकले बताए । जसअनुसार यो महिनामा वीरगन्ज महानगरपालिकामा मात्र सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको प्रहरी विवरण छ ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनामा वीरगन्ज महानगरपालिकामा मात्रै ३९ वटा घरेलु हिंसाका घटना भएको छ ।
यसैगरी ग्रामिण भेगका पालिकाहरुमा पनि घरेलु हिंसाका घटना भएको प्रहरी विवरण छ । तर शहरी क्षेत्रको तुलनामा एकदम न्यून संख्यामा घटना भएको तथ्यांकले देखाइरहेको छ ।
विन्दवासिनी गाउँपालिकामा २ वटा घरेलु हिंसाका घटना भएको छ भने अन्य पालिकाहरुमा १/१ वटा मात्रै घटना भएको उजुरी परेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
पाँच पालिकामा कुनै पनि घटना भएन
वीरगन्ज महानगरपालिकामा धेरै घटना भएतापनि केही पालिकाहरुमा भने एकदम घटना रोकिएका छन् । फागुन महिनामा पाँच वटा पालिकामा भने कुनैपनि घरेलु हिंसाका घटना नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाका ९ वटा पालिकामा मात्रै घरेलु हिंसाका घटना भएका छन् । पोखरिया नगरपालिकासहित ठोरी गाउँपालिका, धोबनी, पटेर्वासुगौली र जिराभवानी गाउँपालिकामा भने घरेलु हिंसाका घटना नभएको प्रहरीको तथ्यांक छ ।
किन बढ्यो ?
प्रहरीको तथ्यांकमा शहरी क्षेत्रमै घरेलु हिंसा बढेको छ । ग्रामिण भेगमा भन्दा शहरी क्षेत्रमा उल्लेखनीय संख्यामा बढी घटना भएपछि गम्भीर प्रश्न खडा भएको छ । समाजमा किन घरेलु हिंसाका घटना भइरहेका छन ? कसको कारणले यो भइरहेको छ ? यो प्रश्न अनुत्तरित छन् ।
यद्यपी, पर्सा प्रहरीले भने शहरी क्षेत्रमा हिंसा बढ्नुको पछाडिको बेग्लै कारण रहेको प्रतिक्रिया दिएको छ । पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले पछिल्लो समय प्रहरीप्रतिको विश्वास बढ्दै गएर रिपोर्ट गर्ने ट्रेन्ड बढेको बताए ।
उनले भने, ‘प्रहरीमा यस्ता केसका रिपोर्ट बढी आउन थालेको छ, यसको मतलब प्रहरीप्रतिको विश्वास बढ्नु हो । अनि त्यहीकारण बढी संख्या देखिएको हो, नत्रभने पहिलापहिला यही संख्या बाहिर आउँदैन्थ्यो । अनि संख्या कम रहन्थ्यो ।’
घरेलु हिंसाका घटना बढेपनि त्यसलाई न्यूनीकरणका लागि प्रहरीले स्पेशल रणनीति लिएको छ । घरेलु हिंसाबारे प्रचारप्रसार तथा पीडकलाई कानुनी दायरामा ल्याएर कडा सजायको दिन लगाउने रणनीति प्रहरीले अवलम्बन गरेको उनको भनाइ छ ।