काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषसहित ५७ जनाको सूची तयार गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
उनका अनुसार समावेशी सिद्धान्तअनुसार विभिन्न क्लस्टरबाट नाम छनोट गरिएको हो।
सूचीमा खस–आर्य समूहबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, मधेसी समुदायबाट ९ जना, दलितबाट ८ जना, थारु समुदायबाट ४ जना तथा मुस्लिम समुदायबाट ३ जनाको नाम समावेश गरिएको छ।
यद्यपि कुन समूहबाट को–को समावेश भएका छन् भन्ने विस्तृत विवरण भने हाल सार्वजनिक गरिएको छैन।
निर्वाचन आयोगले सूची रुजु गरी स्वीकृत गरेपछि मात्रै नाम सार्वजनिक गरिने प्रवक्ता झाको भनाइ छ।