ट्रेन्डिङ

निर्वाचनमा भ्रम फैलाएको आरोप : मधेसका ४ सहित ३७ जना पक्राउ

वीरगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएको आरोपमा मधेस प्रदेशका चार जनासहित देशभरबाट ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार उम्मेदवारी दर्तादेखि मतदान सम्पन्न हुने अवधिसम्म १५ जिल्लाबाट ती व्यक्तिहरू पक्राउ परेका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार मधेस प्रदेशका सप्तरी, धनुषा, रौतहट र बारा जिल्लाबाट एक–एक जना पक्राउ परेका छन् ।

देशभरमा भने सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट १६ जना पक्राउ परेका छन् ।

त्यस्तै बाँकेबाट ४ जना र दाङबाट ३ जना पक्राउ परेका छन् ।

यसैगरी चितवन र सल्याणबाट २–२ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, कास्की, रुपन्देही र अछाम जिल्लाबाट एक–एक जना पक्राउ परेको प्रहरी प्रवक्ता काफ्लेको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत उम्मेदवारी दर्ता माघ ६ गते गरिएको थियो भने फागुन २१ गते मतदान सम्पन्न भएको थियो ।

सोही अवधिमा सामाजिक सञ्जालमा निर्वाचनसम्बन्धी भ्रम फैलाएको आरोपमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै