काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या सार्वजनिक गरेको छ।
आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मतगणना सम्पन्न भएपछि दलगत सिट बाँडफाँट टुंगो लगाएको जनाएको हो।
आयोगका अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ। रास्वपाले ५७ सिट प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।
यस्तै नेपाली कांग्रेस ले २० सिट प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६ सिट हात पारेको छ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी ले ९ सिट पाएको छ।
साना दलतर्फ श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले समान ४/४ सिट प्राप्त गरेका छन्।
आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो।
तीमध्ये १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको छ, जुन करिब ९६.०५ प्रतिशत हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार कुल सदर मतको कम्तीमा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ पार गर्ने दलहरूलाई मात्रै समानुपातिक सिट बाँडफाँट गरिएको आयोगले जनाएको छ।
उक्त मापदण्ड पूरा गर्ने ६ दललाई प्राप्त मतका आधारमा सिट संख्या निर्धारण गरिएको हो।