जनकपुर । मधेस प्रदेशका विभिन्न जिल्लामा यस वर्ष आँप उत्पादन बढ्ने सम्भावना देखिएको छ ।
फागुन सुरु भएसँगै आँपका बगैंचामा रूखभरि फूल लाग्न थालेपछि किसान र कृषि प्राविधिकहरू दुवै उत्साहित बनेका छन् ।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख डा. रामचन्द्र यादवका अनुसार अहिले अधिकांश बगैंचामा आँपका रूखमा प्रशस्त फूल लागेको छ ।
मौसम अनुकूल रहे र रोग–किराको नियन्त्रण समयमै गर्न सकिए उत्पादन अघिल्ला वर्षको तुलनामा उल्लेख्य रूपमा बढ्न सक्ने उनले बताए ।
उनका अनुसार केही क्षेत्रमा धान उत्पादन घटे पनि यस वर्ष आँप खेतीले किसानलाई राम्रो आम्दानी दिन सक्ने अपेक्षा गरिएको छ ।
विशेषगरी धनुषा, सिराहा र सप्तरी जिल्लाहरू आँप उत्पादनका लागि प्रमुख क्षेत्र मानिन्छन् ।
पूर्व–पश्चिम राजमार्ग आसपासका उत्तरी भेगमा हजारौँ किसानले व्यावसायिक रूपमा आँप खेती गर्दै आएका छन् भने दक्षिणी क्षेत्रमा परम्परागत रूपमा उत्पादन भइरहेको छ ।
मधेस प्रदेशमा उत्पादन हुने आँपको माग देशका प्रमुख सहर काठमाडौँ, पोखरा लगायतका बजारमा उच्च रहने गरेको छ ।
यही कारण बगैंचामा फूल लाग्नासाथ व्यापारीहरू बगैंचा नै ठेक्कामा लिन आउने गरेको स्थानीय किसानहरू बताउँछन् ।
कृषि क्षेत्रसँग सम्बन्धित तथ्याङ्कअनुसार देशभर करिब ४२ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ ।
तीमध्ये मधेस प्रदेशमै करिब २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप लगाइएको छ, जुन राष्ट्रिय उत्पादनको ठूलो हिस्सा हो ।
जिल्लागत उत्पादनको हिसाबले सबैभन्दा बढी आँप सिराहामा फल्ने गरेको छ ।
त्यहाँ वार्षिक करिब १ लाख ४ हजार ६७६ मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क छ ।
पर्सामा भने तुलनात्मक रूपमा कम, करिब ४ हजार ७३१ मेट्रिक टन उत्पादन हुने गरेको छ ।
समग्रमा देशभर फल्ने आँपमध्ये करिब ७७ प्रतिशतभन्दा बढी मधेस प्रदेशमै उत्पादन हुने गरेको देखिन्छ ।
यद्यपि रोग र किराको जोखिम भने कायम रहेको कृषि प्राविधिकहरूको भनाइ छ ।
डा. यादवका अनुसार ‘मधुवा’ लगायतका किराका कारण आँपको फूल झर्ने समस्या देखिने भएकाले फूल लाग्नुअघि र साना दाना देखिन थालेपछि समयमै औषधि प्रयोग गर्नु आवश्यक हुन्छ ।
धनुषा जिल्लाका धनुषाधाम, मिथिला, क्षिरेश्वरनाथ र चारनाथ नगरपालिका क्षेत्रलाई आँप उत्पादनको मुख्य ‘पकेट एरिया’ मानिन्छ ।
बटेश्वर क्षेत्रमा त हरेक वर्ष आँप मेला समेत आयोजना गरिँदै आएको छ ।
धनुषाको नारायण नगरपालिका–५ का किसान ज्योति झाले यस वर्ष आँपको फूल राम्रो लागेको बताए ।
मौसम अनुकूल रह्यो भने उत्पादन अघिल्लो वर्षभन्दा बढी हुनेमा आफूहरू आशावादी रहेको उनको भनाइ छ ।
यस्तै, महोत्तरीको मटिहानी नगरपालिका–३ का किसान रहमान कवारीले पनि यस वर्ष आँपका रूखमा राम्रोसँग फूल लागेको जानकारी दिए ।
तर विगतमा बजारको उचित पहुँच नहुँदा उत्पादन भएको आँप सस्तोमा बेच्नुपरेको अनुभव सुनाउँदै उनले बजार व्यवस्थापनमा राज्यको सहयोग आवश्यक रहेको बताए ।
कृषि विज्ञहरूका अनुसार समयमै रोग नियन्त्रण, उचित व्यवस्थापन र अनुकूल मौसम रहन सके यस वर्ष मधेस प्रदेशमा आँप उत्पादन उल्लेख्य रूपमा वृद्धि हुने सम्भावना रहेको छ ।