एजेन्सी
वीरगन्ज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने बताएका छन् ।
बुधबार सञ्चारमाध्यमसँगको संक्षिप्त फोन संवादमा ट्रम्पले इरानविरुद्ध भइरहेको सैन्य अभियान अपेक्षाभन्दा राम्रोसँग अगाडि बढिरहेको दाबी गर्दै युद्ध छिट्टै अन्त्य हुने बताएका हुन् ।
अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ सुरु भएको १२ दिन पुगेको छ ।
उक्त अभियानमार्फत इरानको मिसाइल क्षमता, नौसैनिक शक्ति तथा सम्भावित आणविक हतियार कार्यक्रमलाई कमजोर बनाउने लक्ष्य राखिएको बताइएको छ ।
समाचार संस्था एक्सियोससँगको करिब पाँच मिनेट लामो फोन संवादमा ट्रम्पले युद्ध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे ।
“म कुनै पनि बेला यो अन्त्य गर्न चाहन्छु, यो चाँडै अन्त्य हुनेछ,” उनले भने ।
यसैबीच अमेरिकी केन्द्रीय कमान्डका प्रमुख एडमिरल ब्राड कूपरले एक्समा सार्वजनिक गरिएको भिडियोमार्फत फेब्रुअरी २८ देखि सुरु भएको अभियानमा अमेरिकी सेनाले इरानभित्र पाँच हजार पाँच सयभन्दा बढी लक्ष्यमा आक्रमण गरेको जानकारी दिएका छन् ।
उनका अनुसार ती आक्रमणमा ६० भन्दा बढी जहाज पनि निशाना बनाइएको छ ।
ट्रम्पले युद्ध अपेक्षाभन्दा राम्रोसँग अघि बढिरहेको दाबी गर्दै सुरुमा अनुमान गरिएको छ हप्ताभन्दा कम समयमा नै ठूलो क्षति पुर्याइएको बताएका छन् ।
साथै उनले इरानले विगत ४७ वर्षदेखि फैलाएको मृत्यु र विनाशको मूल्य अहिले चुकाइरहेको टिप्पणी गरेका छन् ।
“यो त्यसको भुक्तानी हो, उनीहरू यति सजिलै बाहिर निस्कन सक्ने छैनन्,” ट्रम्पले भने ।