ट्रेन्डिङ

पर्सामा चारै क्षेत्र जितेपछि रास्वपा सभापति पन्तले दिए मतदातालाई धन्यवाद

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्तले मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएपछि उनले धन्यवाद तथा शुभकामना सन्देश जारी गरेका हुन् ।

जारी सन्देशमार्फत पन्तले पर्सा जिल्लावासी, मतदाता, शुभेच्छुक, पार्टीका नेता–कार्यकर्ता तथा परिवारका सदस्यप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

उनले पर्सामा आएको चुनावी परिणामलाई परिवर्तनको संकेतका रूपमा व्याख्या गर्दै भ्रष्टाचार र कुशासन अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सन्देशमा उनले भनेका छन्, “पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा मलाई निर्वाचित गराउनुका साथै जिल्लाका चारै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई जिताउनु भएका सम्पूर्ण मतदाता, शुभेच्छुक र पार्टीका साथीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”

पन्तले मतदाताको साथ, सहयोग र विश्वासका कारण देशभर परिवर्तनको लहर सुरु भएको दाबी गरेका छन् ।

उनले आगामी दिनमा पर्साबाट निर्वाचित चारै सांसदले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार, बेथिति र कुशासन अन्त्य गरी विधिको शासन स्थापित गर्न प्रतिबद्ध भएर काम गर्ने बताए ।

उनले देशलाई प्रगतिको मार्गमा अघि बढाउन सबैको निरन्तर सुझाव, सल्लाह र साथ आवश्यक रहने उल्लेख गर्दै सहकार्यका लागि अपिल पनि गरेका छन् ।

यस पटकको निर्वाचनमा पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ ।

पर्सा–१ बाट पन्त, पर्सा–२ बाट सुशील कुमार कानु, पर्सा–३ बाट रमाकान्त चौरसिया र पर्सा–४ बाट टेक बहादुर शाक्य विजयी भएका हुन् ।

समानुपातिकतर्फ पनि पर्सामा रास्वपा पहिलो दल बनेको छ ।

पर्सामा रास्वपाको यो सफलता स्थानीय तथा राष्ट्रिय राजनीतिक वृत्तमा परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै