ट्रेन्डिङ

हिमाल–पहाडमा आज फागुपूर्णिमा: रंग, रीतिरिवाज र धार्मिक विश्वाससँगै होलीको उल्लास

काठमाडौँ । हिमाली तथा पहाडी जिल्लामा आज फागुपूर्णिमा (होली) हर्षोल्लासका साथ मनाइँदैछ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र उमंगको सन्देश बोकेको छ।

एकापसमा रङ र अबिर दल्दै तथा लोला खेल्दै सर्वसाधारणले पर्वको रौनक बढाएका छन्।

उपत्यकाको ऐतिहासिक क्षेत्र वसन्तपुर आज बिहानैदेखि रंगीन बनेको छ।

परम्पराअनुसार फागुन शुक्ल अष्टमीका दिन गद्दी बैठकअगाडि गाडिएको चिर आज विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगेर दहन गरिन्छ।

चिरमा राखिएका ध्वजापताका औषधोपचारमा उपयोगी हुने विश्वास छ।

चिरको खरानी टीका लगाउँदा अनिष्ट टर्छ भन्ने जनविश्वास पनि रहिआएको छ।

यसै अवसरमा टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई प्रतीकात्मक रूपमा भात र राँगाको मासु चढाउने तथा सैनिक अस्पतालभित्र रहेको ‘जधु’ धारामा चुठाउने परम्परा समेत जीवित छ।

यी सबै रीतिरिवाजले काठमाडौंको सांस्कृतिक पहिचान झल्काउँछन्।

होलीसँग जोडिएका धार्मिक कथाहरू पनि उत्तिकै प्रचलित छन्।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले नछुने वरदान पाएकी बहिनी होलिकासँग आगोमा पठाउँदा होलिका भष्म भइन् तर प्रह्लादलाई केही भएन।

असत्य र अहंकारमाथि सत्य र भक्तिको विजयको प्रतीकका रूपमा होली मनाउने चलन त्यही समयदेखि सुरु भएको विश्वास गरिन्छ।

द्वापरयुगमा कंशद्वारा पठाइएकी राक्षसी पुतना बालक कृष्णलाई विष पिलाउन असफल भई मारिएको प्रसंग पनि फागुसँग जोडिएको धार्मिक आख्यानमा उल्लेख छ।

आयुर्वेदिक दृष्टिले समेत यो पर्व महत्वपूर्ण मानिन्छ।प्राकृतिक रङ र अबिरले छालासम्बन्धी समस्या कम गर्ने र चिर दहनबाट निस्कने धुवाँले कीटाणु नाश हुने जनविश्वास छ।

केही वर्षअघिसम्म उपत्यकामा होलीका नाममा उच्छृंखल गतिविधि देखिए पनि पछिल्ला वर्षहरूमा प्रहरीको सक्रियता र सचेतनाका कारण पर्व क्रमशः सभ्य बन्दै गएको छ।

नशालु पदार्थ सेवन, रासायनिक रङको दुरुपयोग तथा सवारीसाधनमा लोला हान्ने जस्ता विकृति घट्दै गएका छन्।

सरकारले परम्पराअनुसार आज हिमाल र पहाडमा सार्वजनिक बिदा दिएको छ भने तराई मधेसका जिल्लामा पूर्णिमाको भोलिपल्ट होली मनाउने चलनअनुसार मङ्गलबार बिदा दिइएको छ।

यस पर्वमा विभिन्न समुदायका आ–आफ्नै सांस्कृतिक अभ्यास पनि देखिन्छन्।

थकाली समुदायले रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तीर हान्ने प्रतियोगिता आयोजना गर्छन्।

सात दिनसम्म चल्ने यो पर्वमा दाजुभाइ, आफन्त र नातेदारसँग भेटघाट गरी मीठा परिकारका साथ रमाइलो गर्ने परम्परा रहिआएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै