काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ।
उक्त प्रणालीका कारण कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली देखिएको छ।
अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान तराईका केही स्थानमा हुस्सु लागेको देखिएको छ।
दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बाँकी हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने बताइएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, यी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङ्गसहित हल्का वर्षा हुन सक्नेछ।
आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने ती प्रदेशका पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।
राति पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसममा हुने परिवर्तनका कारण विशेष गरी हिमाली तथा पहाडी क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।