वीरगन्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयकुमार चौरसियाले आफ्नो बलियो आधार मानिएको बिरुवागुठी क्षेत्रमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।
उम्मेदवार चौरसियाले पर्सा–२ अन्तर्गत पर्ने बिरुवागुठीका सबै वडामा एकैदिन घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।
बिहानदेखि साँझसम्म सञ्चालन गरिएको अभियानमा स्थानीय बासिन्दाको उल्लेख्य र उत्साहपूर्ण सहभागिता देखिएको थियो।
घरदैलोका क्रममा चौरसियाले विगतमा आफूले क्षेत्रको विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका पहलहरूबारे जानकारी गराउँदै आगामी कार्ययोजनासमेत सार्वजनिक गरेका थिए।
उनले “विकासलाई निरन्तरता दिन र अधुरा योजनालाई पूरा गर्न पुनः एकपटक अवसर दिन” मतदातासँग आग्रह गरेका थिए।
स्थानीयवासीहरूले भने चौरसियालाई पुनः मत दिएर विजयी गराउने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।
विशेषगरी युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले बिरुवागुठीमा कांग्रेसको जनआधार अझ मजबुत देखिएको स्थानीय विश्लेषकहरू बताउँछन्।
एकैदिन सबै वडामा गरिएको घरदैलो कार्यक्रमलाई चौरसियाको चुनावी रणनीतिमा ‘शक्ति प्रदर्शन’का रूपमा हेरिएको छ।
चुनाव नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गइरहेका बेला चौरसियाको यो सक्रियता उनलाई थप ऊर्जा र लाभ पुग्ने संकेतका रूपमा व्याख्या गरिएको छ।