ट्रेन्डिङ

पर्साको परवानीपुरमा कांग्रेसको उत्साहजनक प्रवेश, दुई सय बढी युवा पार्टीमा आबद्ध

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत रहेको वीरगन्ज महानगरपालिका–२१ परवानीपुरमा नेपाली कांग्रेसले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय युवा तथा अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने करिब दुई सयभन्दा बढी व्यक्ति कांग्रेसमा प्रवेश गरेका छन्।

कार्यक्रममा बोल्दै अनिल रुङ्टाले नेपाली जनता राजनीतिक रूपमा सचेत भइसकेको दाबी गरे।

उनले विगतका चुनावमा भएका कमजोरी र भ्रमबाट मतदाताले पाठ सिकिसकेको भन्दै अब सही नेतृत्व छनोट हुने विश्वास व्यक्त गरे।

“जनता अब झुक्किने अवस्था छैन। परिवर्तन र विकासको पक्षमा मतदान हुने वातावरण बन्दै गएको छ,” उनले भने।

साथै, विकास, सुशासन र समावेशी नेतृत्वको स्पष्ट दृष्टिकोणसहित आफूहरू जनतामाझ आएको उनको भनाइ थियो।

रुङ्टाले पर्सा क्षेत्र नम्बर–१ को समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, रोजगारी सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

दैनिक रूपमा भइरहेको पार्टी प्रवेश र बढ्दो जनसमर्थनले आफ्नो विजयको आधार थप मजबुत बन्दै गएको उनको दाबी छ।

कार्यक्रममा नवप्रवेशीहरूलाई उम्मेदवार रुङ्टाले अबीर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

नवप्रवेशीहरूले देशमा स्थिरता, विकास र लोकतान्त्रिक मूल्य मान्यताको सुदृढीकरणका लागि कांग्रेस रोजेको प्रतिक्रिया दिएका छन्।

रामनारायण साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा रामनारायण कुर्मी, अजय कुमार द्विवेदी, प्रकाश उपाध्याय, हबिब मिया, अरबिन्द गुप्ता र किरण सरकार लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

आयोजकहरूले परवानीपुर क्षेत्रमा कांग्रेसप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको र आगामी दिनमा पनि पार्टी प्रवेश अभियानलाई निरन्तरता दिइने बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै