वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर–२३ प्रसौनी बिर्तामा रात्रि कोणसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार साँझ प्रसौनी बिर्ता चोकमा आयोजित कार्यक्रममा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौं स्थानीय रास्वपामा प्रवेश गरेको दाबी गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति तथा पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले यसपटक मतदाताले सही उम्मेदवार छनोट गर्ने विश्वास व्यक्त गरे।
“नेपाली जनता अब सचेत भइसकेका छन्, अब कसैको भ्रममा पर्दैनन्,” उनले भने, “क्षेत्र नम्बर–१ का जनताले परिवर्तनका पक्षमा मत दिनेमा म विश्वस्त छु।”
उनले पछिल्ला दिनहरूमा निरन्तर भइरहेको पार्टी प्रवेशले आफूहरूको जनसमर्थन बलियो बन्दै गएको दाबी गर्दै यसले चुनावी परिणाममा सकारात्मक प्रभाव पार्ने बताए।
कृष्ण पासवानको सञ्चालनमा सम्पन्न कार्यक्रममा सगिर आलम, महुमुद्दिन अन्सारी र चन्दन यादवलगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए।
जितेन्द्र महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृष्ण दासले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
रास्वपाले निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर–१ का विभिन्न वडामा कोणसभा तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ।