सिरहा । सिरहाको गोलबजारमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने सडकखण्डमा आज बिहान प्रदेश २–०–००१ क ००४५ नम्बरको टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाइएको थियो।
सोही क्रममा माथिबाट गुज्रिएको विद्युत् प्रसारण लाइनमा टिपरको डाला छोएपछि करेन्ट सर्ट भई सवारीमा आगलागीसमेत भएको थियो।
घटनामा गम्भीर घाइते भएका गोलबजार नगरपालिका–३ का करिब ४३ वर्षीय सन्तोष साहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साह हाल वडा नम्बर–२ मा बस्दै आएका थिए। उनी उक्त टिपरका सवारीधनीसमेत रहेको बताइएको छ।
करेन्ट लागेपछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि नजिकैको अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
आगलागी भएको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनापछि तत्कालै आगो नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ।
मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको छ।