जनकपुर । प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सीमा नाका अस्थायी रूपमा बन्द गरिने निर्णयबीच मिथिला माध्यमिकी परिक्रमामा सहभागी भारतीय यात्रीलाई घर फर्कन विशेष व्यवस्था मिलाइएको छ।
जिल्ला प्रशासन कार्यालयले परिक्रमा सकिएलगत्तै उनीहरूलाई भारततर्फ फर्कन सहजीकरण गर्ने जनाएको हो।
निर्वाचन सुरक्षाको कारण सोमबार (फागुन १८ गते) मध्यरातदेखि बिहीबार (फागुन २१ गते)सम्म नेपाल–भारत सीमा नाका बन्द रहने निर्णय गरिएको छ।
तर परिक्रमामा सहभागी भारतीय साधुसन्त तथा सर्वसाधारणलाई लक्षित गर्दै मङ्गलबार (फागुन १९ गते) मध्याह्नदेखि बुधबार मध्याह्नसम्म सीमाबाट भारत फर्कन अनुमति दिइने व्यवस्था मिलाइएको प्रशासनले स्पष्ट पारेको छ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो अवधिमा यात्रुलाई “भारततर्फ जान” मात्र सहजीकरण गरिनेछ, नेपाल प्रवेश भने खुला गरिने छैन।
यसका लागि दुवै जिल्लाका सुरक्षा निकाय र प्रशासनबीच समन्वय गरिएको उनले बताए।
भारतीय यात्रीका लागि मुख्य नाका रूपमा जयनगर र जटही (धनुषा) तथा मटिहानी र भिठ्ठामोर (महोत्तरी) तोकिएका छन्।
ती नाकाबाट फर्कने यात्रुका लागि सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत अन्तिम दिनको रात्रिबासका लागि यात्री सोमबार जनकपुर पुग्ने कार्यक्रम छ।
मङ्गलबार बिहान जनकपुरधामको अन्तर्गृह (पञ्चकोसी) परिक्रमा सम्पन्न भएपछि औपचारिक रूपमा यात्रा समापन हुनेछ।
सोही तालिकालाई मध्यनजर गर्दै बुधबार मध्याह्नसम्म भारत फर्कने वातावरण बनाइएको प्रशासनको भनाइ छ।
निर्वाचनको समयमा सीमा बन्द हुँदा भारतीय यात्री अलपत्र पर्ने आशंका व्यक्त भइरहेका बेला प्रशासनको यो निर्णयले सहजता ल्याउने अपेक्षा गरिएको छ।
परिक्रमा यात्रामा उल्लेख्य सङ्ख्यामा भारतीय साधुसन्त तथा श्रद्धालु सहभागी रहेका छन्।