बारा । सीमावर्ती जिल्लाका रूपमा परिचित बारामा व्यापारिक पूर्वाधार अभावको मुद्दा फेरि चुनावी बहसको केन्द्रमा आएको छ।
आम जनता पार्टीका बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विजय यादव निर्विजले स्थानीय तहमा भन्सार कार्यालय स्थापना गर्न पहल गर्ने घोषणा गरेका छन्।
चुनावी अभियानका क्रममा सिम्रौनगढ नगरपालिका का विभिन्न वडामा आयोजित घरदैलो तथा कोणसभामा बोल्दै उनले सीमासँग जोडिएको आर्थिक सम्भावनालाई संस्थागत संरचनाले साथ नदिँदा अपेक्षित लाभ लिन नसकिएको बताए।
ननसगरा ढाट, बोर्डर बैरिया, नयका टोल, जोलाही, हरियरपुर र गंगानगरलगायत क्षेत्रमा उनले भन्सार कार्यालय स्थापनालाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारे।
उनका अनुसार बारा–१ मा कृषि उत्पादन, साना तथा मझौला उद्योग र सीमापार व्यापारको उल्लेख्य सम्भावना हुँदाहुँदै पनि भन्सार संरचना अभावले स्थानीय व्यापारीलाई अन्य जिल्लाको भन्सार कार्यालयमा निर्भर हुनुपरेको छ।
यसले ढुवानी खर्च बढ्नुका साथै समय र प्रक्रियागत झन्झट थपिएको उनको दाबी छ।
यादवले स्थानीय स्तरमै भन्सार कार्यालय स्थापना भए व्यापारिक गतिविधि सहज र तीव्र हुने, राजस्व संकलनमा वृद्धि हुने तथा अर्थतन्त्र चलायमान बन्ने विश्वास व्यक्त गरे।
उनले अवैध आयात–निर्यात नियन्त्रण, राजस्व चुहावट न्यूनीकरण र सीमावर्ती बजारलाई व्यवस्थित बनाउन पनि यो कदम प्रभावकारी हुने तर्क गरे।
उनका अनुसार भन्सार कार्यालय स्थापनाले स्थानीय युवालाई प्रत्यक्ष रोजगारीका अवसर सिर्जना गर्नुका साथै उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्नेछ।
“यो केवल चुनावी प्रतिबद्धता होइन, बाराको दीर्घकालीन आर्थिक समृद्धिका लागि आवश्यक पूर्वाधार हो,” उनले भने।
निर्वाचित भए संघीय सरकार र सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउँदै यादवले सीमावर्ती क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने बताए।
उनको यो घोषणासँगै बारा क्षेत्रमा आर्थिक पूर्वाधार विकास र सीमावर्ती व्यापार व्यवस्थापनबारे पुनः बहस सुरु भएको छ।