वीरगन्ज। नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट निर्वाचित बहुदरमाइ नगरपालिका वडा नं.–३ का वडाध्यक्ष दिनेश यादवसहितका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
बिहीबार आयोजित विशेष कार्यक्रममा पर्सा क्षेत्र २ का कांग्रेस उम्मेदवार अजयकुमार चौरसियाले वडाध्यक्ष यादवसहित सहभागीहरुलाई फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
वडाध्यक्ष यादवले एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गर्नुको कारण खुलाउँदै अब क्षेत्रको विकास, पारदर्शिता र जनताको अपेक्षा पुरा गर्न कांग्रेस नै उपयुक्त विकल्प भएको बताए।
उनले बहुदरमाइ–३ का नागरिकको हितलाई केन्द्रमा राखेर सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
कांग्रेस उम्मेदवार चौरसियाले यादवसहितको टोलीको प्रवेशले बहुदरमाइ क्षेत्रमा पार्टीको संगठन थप सुदृढ भएको दाबी गरे।
“यो केवल पार्टी प्रवेश होइन, जनमतको संकेत हो,” उनले भने, “अब बहुदरमाइमा कांग्रेसको लहर स्पष्ट देखिएको छ।”
स्थानीय राजनीतिक वृत्तमा वडाध्यक्षसहितको यो प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यस घटनापछि पर्सा क्षेत्र नं.–२ को चुनावी समीकरणमा नयाँ मोड आउने आकलन गरिएको छ।
