ट्रेन्डिङ

वीरगन्जको छपकैयामा ठूलो राजनीतिक ब्रेकथ्रु : जसपा बोर्ड कांग्रेसमा प्रवेश

वीरगन्ज । वीरगन्ज महानगरपालिका–१ छपकैयामा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) बाट निर्वाचित सम्पूर्ण बोर्ड समिति नै आज नेपाली कांग्रेस मा प्रवेश गरेको छ।

यस घटनाले स्थानीय राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।

जसपा नेपालबाट निर्वाचित वडा अध्यक्ष मनोज राउत कुर्मी, वडा सदस्य दिपेन्द्र राउत, रमाउती देवी र प्रभु महतो कोइरी लगायतका जनप्रतिनिधिहरूले पार्टी परित्याग गर्दै कांग्रेसमा औपचारिक प्रवेश गरेका हुन्।

उनीहरूलाई कांग्रेस पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अजयकुमार चौरसिया ले स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए।

नवप्रवेशी जनप्रतिनिधिहरूले कांग्रेसको नीति, नेतृत्व र विकासप्रतिको स्पष्ट दृष्टिकोणबाट प्रभावित भएर पार्टी रोजेको बताएका छन्।

उनीहरूले आगामी दिनमा वडा र क्षेत्रको समग्र विकासका लागि कांग्रेससँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए।

स्थानीय तहमा प्रभावशाली मानिएको छपकैयाको वडा नम्बर–१ को निर्वाचित बोर्ड नै कांग्रेसमा प्रवेश गर्नुले पर्सा क्षेत्र–२ मा चुनावी समीकरण नै बदलिने संकेत देखिएको छ।

विशेषगरी, संगठितरूपमा जनप्रतिनिधिहरूको साथ पाउँदा अजयकुमार चौरसियालाई निर्वाचन अभियानमा उल्लेखनीय बल पुग्ने विश्लेषण गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस प्रवेशले कांग्रेसको संगठन थप सुदृढ हुनुका साथै मतदातामाझ सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ।

वीरगन्ज–१ मा देखिएको यो राजनीतिक ध्रुवीकरणले आगामी चुनावलाई थप रोचक बनाउने निश्चित देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै