काठमाण्डौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको ७२ घण्टा भन्दाअघि सीमानाका सिल गर्ने निर्णय गरिएको छ ।
मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले निर्वाचन लक्षित गर्दै नेपाल–भारत र नेपाल–चिनतर्फको सीमानाका ७२ घण्टाअघि बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार अब मतदानको ७२ घण्टाअघि आवातजावत गर्न पाइने छैन ।
मतदानअघि मादक पदार्थ बेचबिखनमा रोक लगाउनेबारे समेत बैठकमा छलफल भएको बताइएको छ । त्यसका लागि आयोगबाट समय तोकेर विज्ञप्ति प्रकाशन गरिने बैठकमा सहभागी एक अधिकृतले बताए ।
बैठकमा फागुन १९ मा परेको तराईको होली पर्व र जनकपुरमा हुने माध्यमिकी परिक्रमा मेलाबारे पनि छलफल भएको छ । निर्वाचनको मौन अवधिमा होली पर्व परेको हुनाले कसरी व्यवस्थापन गर्ने भन्नेबारे समेत छलफल गरिएको उनले बताए ।
यसैगरी भारतीय नम्बर प्लेटका सवारी साधनलाई रोक लगाउनेबारे पनि छलफल भएको छ । तर, मतदान हुनुभन्दा कत्ति दिनअघिदेखि विदेशी नम्बर प्लेटको सवारी चल्न नदिने भन्नेबारे निर्णय गर्ने अधिकार आयोगलाई दिइएको छ ।
त्यस्तै हिमाली जिल्लामा हिँउ परिरहेको र त्यसबाट निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा कर्मचारीलाई लेक लाग्ने चुनौतीबारे छलफल भएको छ ।