वीरगन्ज । पर्सा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत जगरनाथपुर क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुङटालाई स्थानीय बासिन्दाले उत्साहपूर्ण तथा भव्य स्वागत गरेका छन्।
गाउँ–टोलमा समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ भने राजनीतिक बहस र छलफलहरू सक्रियरूपमा अघि बढिरहेका छन्।
जगरनाथपुर वडा नम्बर २२ मा बुथ सभापति नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उल्लेखनीय जनसहभागिता रहेको थियो।
आसपासका टोलमा भेला, भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम विस्तार भएसँगै समग्र क्षेत्र चुनावमय बनेको देखिन्छ।
घरदैलो अभियानका क्रममा पुगेका रुङटालाई स्थानीयले फूलमाला र अबिरसहित स्वागत गर्दै खुलेर समर्थन जनाएका छन।
प्रचारप्रसार केन्द्र उद्घाटनपछि उनले प्रत्येक टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिए।
नागरिकका गुनासा, सुझाव र अपेक्षाहरू सुन्दै उनले क्षेत्रको समग्र विकासका स्पष्ट योजना प्रस्तुत गरे।
कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता उल्लेखनीय देखियो।
सयौं नागरिकको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले क्षेत्रीय विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्न आग्रह गरे।
युवाहरूले सीप विकास, खेलकुद पूर्वाधार विस्तार तथा उद्यमशीलता प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाउनुपर्ने धारणा व्यक्त गरे।
सम्बोधनका क्रममा रुङटाले आफ्नो उम्मेदवारी अनुहार परिवर्तन मात्र नभई कार्यशैली र नतिजा परिवर्तन गर्ने अवसर भएको बताए।
“निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, यो कार्यशैली र नतिजा फेर्ने अवसर हो,” उनले भने।
सुशासन, प्रविधिमैत्री सेवा र जनउत्तरदायी राज्य प्रणालीलाई प्राथमिकतामा राख्दै पर्सा–१ को विकास र राष्ट्रिय नीति निर्माणमा युवा दृष्टिकोण समावेश गर्ने उद्देश्यले आफू चुनावी मैदानमा उत्रिएको उनले स्पष्ट पारे।
पर्सा–१ का मतदाताबाट अत्यधिक मतसहित विजयी हुने विश्वास व्यक्त गर्दै रुङटाले जनताको साथ, समर्थन र सुझावलाई सधैं सम्मानका साथ आत्मसात् गर्ने प्रतिबद्धता जनाए।
चुनावपछि पनि निरन्तर जनतामाझ रहेर विकास निर्माणका कामलाई गति दिने अठोट उनले दोहोर्याए।