ट्रेन्डिङ

पर्सा–१ मा रास्वपाको प्रभाव विस्तार : माओवादीका पदाधिकारी प्रवेश, हरि पन्तको आक्रामक घरदैलो

वीरगन्ज । देशभर वैकल्पिक राजनीतिक शक्तिको बहस चुलिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण पर्सा–१ मा समेत तीव्र देखिएको छ।

विशेषगरी वीरगन्ज महानगरपालिका–२३ मा आयोजित पार्टी प्रवेश कार्यक्रमले रास्वपाको संगठनात्मक आधार विस्तार हुँदै गएको संकेत दिएको छ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आधा दर्जन स्थानीय पदाधिकारीले पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन्।

माओवादी केन्द्रका इकाइ सदस्य जितेन्द्र महतो, सह–सचिव चन्दन पासवान, नगर सदस्य सुनिल कुमार ततवालगायतले वैकल्पिक शक्तिलाई सघाउने भन्दै रास्वपामा आबद्ध भएको जनाइएको छ।

प्रवेश कार्यक्रममा नेताहरूले पुरानो राजनीतिक अभ्यासप्रति निराशा व्यक्त गर्दै नयाँ राजनीतिक संस्कारको आवश्यकता औंल्याएका थिए।

यसैबीच, पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा रास्वपा पर्सा सभापति पन्तले चुनावी अभियानलाई थप तीव्र बनाएका छन्।

नगवामा पार्टी कार्यालय उद्घाटनसँगै उनले घरदैलो कार्यक्रमलाई आक्रामक रूपमा अघि बढाएका हुन्।

घरदैलोका क्रममा पन्तले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासन आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे।

घण्टी चुनाव चिन्हसहित कार्यकर्ताहरू घरघर पुगेर समर्थन जुटाइरहेका छन्।

स्थानीयले फूलमाला र गम्छा लगाएर स्वागत गर्दा युवाहरूको उत्साह उल्लेख्य देखिएको थियो।

कार्यक्रममा समर्थकहरूले बालेन शाह र रवि लामिछानेका तस्वीरसहित नाराबाजी गर्दै वातावरण उत्साहपूर्ण बनाएका थिए।

सम्बोधनका क्रममा पन्तले “राजनीति सेवा हो, सत्ता होइन” भन्ने सन्देश दोहोर्‍याउँदै परम्परागत दलप्रति निराश मतदाताले अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राखे।

उनले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सडक–पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलोमा स्थानीय बासिन्दाले बेरोजगारी, कृषि उत्पादनको बजारीकरण, सडक अवस्था र स्वास्थ्य सेवाबारे प्रश्न उठाएका थिए।

पन्तले केन्द्र सरकारसँग समन्वय गर्दै पर्सा–१ लाई विकासको नयाँ मोडमा लैजाने दाबी गरे।

निर्वाचन नजिकिँदै जाँदा पर्सामा विभिन्न दलका उम्मेदवारहरू घरदैलो र सभा–सम्मेलनमार्फत मतदाता आकर्षित गर्न सक्रिय छन्।

रास्वपाले भने वैकल्पिक राजनीतिक शक्तिको रूपमा आफ्नो उपस्थिति थप सशक्त बनाउँदै लैजाने रणनीति अघि सारेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै