वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका–३१ का भद्रभलादमी तथा बुद्धिजीवीहरूको एक समूहले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न ‘घण्टी’मा मतदान गर्ने भद्र सहमति गरेको जनाएको छ।
हिजो अबेर राति स्थानीय शिव मन्दिरमा बसेको सामूहिक बैठकले पार्टी प्रवेश नगरीकनै यसपटक घण्टीमा मतदान गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागीहरूले आफूहरू विभिन्न राजनीतिक दलसँग आबद्ध रहे पनि मुलुकको वर्तमान परिस्थिति र परिवर्तनको आवश्यकता हेरेर साझा धारणा बनाइएको बताएका छन्।
उनीहरूले विगत झण्डै तीन दशकभन्दा बढी समयदेखि देश कुशासन, भ्रष्टाचार, बेथिति र अनियमिततामा जकडिएको उल्लेख गर्दै अब समूल परिवर्तनको आवश्यकता रहेको धारणा राखे।
“देश परिवर्तनको संघारमा छ, यसपटक दलभन्दा माथि उठेर निर्णय लिनु आवश्यक छ,” बैठकमा सहभागी एक बुद्धिजीवीले बताए।
यस निर्णयसँगै पर्सा–१ को चुनावी माहोलमा नयाँ तरंग देखिएको छ।
स्थानीय तहमा प्रभाव राख्ने बुद्धिजीवी र भद्रभलादमीहरूको मौन समर्थनले रास्वपाप्रति जनआकर्षण बढ्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ।
कार्यक्रममा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरूले पार्टीगत आबद्धता फरक भए पनि यस निर्वाचनमा परिवर्तनको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपा पर्सा सभापति तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्त ले स्थानीय प्रभावशाली व्यक्तिहरूको समर्थनले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्।
“फरक विचार र सिद्धान्त भएका व्यक्तित्वहरूको साथले यस क्षेत्रको राजनीतिक समीकरण परिवर्तन हुनेछ,” उनले भने, “अब परिवर्तनको आवाज घर–घरमा पुग्नेछ। जनताले इमानदार नेतृत्व र जवाफदेही शासन खोजिरहेका छन्।”