वीरगन्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्वर -१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाले वीरगन्ज महानगरपालिका–७ माईस्थानमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।
प्रचारप्रसार केन्द्रको उद्घाटनसँगै सुरु गरिएको घरदैलो अभियानका क्रममा रुङटाले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै मत मागेका छन्।
घरदैलोका क्रममा स्थानीय मतदाताले रुङटालाई आत्मीय स्वागत तथा आशीर्वाद दिएका थिए।
मतदातासँगको भेटघाटपछि रुङटाले स्थानीयको उत्साहजनक साथ र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको प्रतिक्रिया दिए।
“जनताको भरोसालाई परिणाममा बदल्ने प्रतिबद्धता लिएको छु,” उनले भने।
रुङटाले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, युवामा उद्यमशीलताको प्रवर्द्धन, दिगो पूर्वाधार विकास र प्रभावकारी स्वास्थ्य सेवा आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पारे।
समान सहभागिता, समावेशी विकास र अवसरको सुनिश्चितता आफ्नो राजनीतिक प्रतिबद्धताको केन्द्रमा रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न अपिल गरे।
कार्यक्रम वडा नम्बर ७ का बुथ सभापति सुरेश कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा सहभागी स्थानीय नेताहरूले पार्टीप्रति युवाको आकर्षण बढ्दो रहेको दाबी गरेका छन्।
रुङटाले पर्सा क्षेत्र १ का मतदाताले अत्यधिक मतले विजयी गराउनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै जनताको सुझाव र विश्वासलाई उच्च सम्मानका साथ आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्याए।