वीरगन्ज । मुस्लिम समुदायको रमजान पर्व देशभरि आजदेखि सुरु भएको छ । हिजो साँझ चान्द ( चन्द्रमा ) देखेपछि आजदेखि विधिवतरुपमा रमजान पर्व आजदेखि सुरु भएको हो ।
चन्द्रमा देखेर सुरु हुने यो पर्व फेरि महिनाको अन्तयमा चन्द्रमा देखेर नै यसको समापन हुने गर्दछ । बुधबार रातीदेखि सूर्योदय भन्दा पहिला सेहरी (रातीमा खाना) खाएर इस्लाम धर्मावलीहरुले यो पर्वको व्रत बस्ने सुरुवात गरेका छन् ।
देशभरिका इस्लाम धर्मावलम्बीहरुले रमजान पर्वको अवसरमा एक महिना रोजा (व्रत) बस्ने गर्दछन् । रोजा बस्दा महिनाभरि उपवास अर्थात् केही पनि नखाइकन व्रत पूरा गर्छन् ।
रमजान इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व हो । रमदानमा खासगरी नावालकबाहेक मुस्लिम समुदायका सबै स्वस्थ महिला÷पुरुष एक महिने रोजा बस्दछन्,जसले गर्दा यो पर्वलाई धार्मिक उत्सवको रुपमा मनाउने पनि गरिन्छ ।
के हो रमजान ?
रमजान या रमदान यो एउटा इस्लामिक महिनाको नाम हो । उर्दू, अरबी,फारसी सबैको इस्लामी कैलेण्डरको यो ९ औं महिना हो । जसरी हाम्रोमा बैशाख, जेठमहिना सुरु भएजस्तै इस्लामी क्यालेण्डरको पहिलो महिना मुहरम हो ।
दोस्रो सफर, तेस्रो रबी अल–अव्वल, चौथो रबी अल–थनी,पाँचौ जुमाद अल–उला, छौठो जुमाद अल–थनी, सातौं रज्जब,आठौं शआबान,नवौं रमजान,दशौं शौवाल,एघारौं धूअल–किदाह र बाह्रौ धूअल–हिज्जाह हो ।
यसैको ९ महिना हो –रमजान । धर्मिक मान्यता अनुसार यो महिनामा मुस्लिम समुदायको धार्मिक ग्रन्थ कुरान अवतरण भएको हो । यही कुरानमा गरिएको छ–रोजाको चर्चा, जहाँ नै अनिवार्य गरिएको छ मुस्लिम समुदायले रोजा बस्नुपर्ने । मूलतः यहीकारणले इस्लाम धर्मावलम्बीहरुले रोजा वस्ने गर्दछन् ।
यो महिनामा धार्मिक ग्रन्थ कÞुरान वाचन गर्नु बढी पुण्य मानिन्छ । किनकि यही महिनामा कुरानको अवतरण पनि भएको हो । त्यसैले होला यो महिनामा पाँच पटकको नमाजको अलावा एउटा विशेष नमाज पढिन्छ । जसलाई ‘तरावीह’ को नमाज भनिन्छ । यस नमाजमा कुरान वाचन गरेर पढेर सबैलाई सुनाइन्छ, कुरान पढ्न नआउनेहरुलाई सुनेर त्यसको फाइदा अर्थात पुण्य मिलोस भन्ने हेतुले यो नमाज पढिन्छ ।
एक महिना किन ?
धर्मिक ग्रन्थ कुरान अनुसार यो पर्वमा मुस्लिम समुदायलाई एक महिना व्रत वस्ने अनिवार्य गरिएको छ । यसको धार्मिक कारण बुझ्दा अल्लाह ( भगवान) ले नै एक महिना व्रत बस्न हुकुम ( आदेश) दिएको बताइन्छ ।
अल्लाहले कुरानमार्फत एक महिना व्रत बस्ने आदेश दिएको धार्मिक अगुवाहरु बताउँछन् । यो आदेश कुरानको सुरा–ए–बक्रराहको आयात नम्बर १८५ मा दिइएको छ । त्यही कारणले रमजान पर्वमा एक महिना व्रत बस्ने गरेको बताइन्छ ।
रोजाको अर्थ
धर्मिक जानकारहरुका अनुसार रोजा फारसी शब्द हो । यसलाई नेपालीमा उपवास भनिन्छ । अरबीमा उपवासलाई भने माह–ए–सियाम पनि भनिन्छ । रमजानको महिना कहिले २९ दिन त कहिले ३० दिनको हुन्छ ।
नेपाल र भारतको मुस्लिम समुदायमा फारसी प्रभाव बढी परेकोले उपवासको फारसी शब्द रोजा नै बढी प्रयोग हुने गर्दछ ।
रोजा किन ?
मुस्लिम समुदायको रमजान महिनामा रोजा बस्नु (फर्ज) कर्तव्य हो । रमजान इस्लाम धर्मको पाँच पिल्लरमध्ये एक हो । यसको पाँच पिल्लरमा कल्मा(श्लोक), नमाज, रोजा, जकात र हज पर्दछन् । जसमध्ये एउटा हो–रोजा ।
अर्थात गर्नैपर्ने काम हो यो । यसको धार्मिक फाइदा भनेको यो व्रत बस्दा मरेपछि जन्नत (स्र्वग) मा जान पाइने मान्यता छ । अर्को शारिरीकरुपमा पनि यसको धेरै फाइदा रहेको बताइन्छ ।
मुख्यतः व्रत बस्दा कुलत बानी छुट्ने गर्छ ।
जाड् रक्सी, चोरी, चुरोट, सुर्ती जस्ता पदार्थ सेवन गर्नु रोजामा वर्जित गरिएको हुन्छ,जुन कारणले स्वास्थ्यलाई फाइदा पुग्दछ । मान्छेलाई मानव बनाउने एउटा महत्वपूर्ण तालिम हो,रमजान । मौलानाहरुका अनुसार गलत कामबाट बचाउँने माध्यमको रुपमा यसलाई लिइन्छ ।
उनीहरु भन्छन, ‘किनकि एक महिना व्रत बस्दा सबै खराब बानी त्याग्नुपर्छ, मन शुद्ध हुन्छ । जसले गर्दा राम्रो काम गर्ने बानी नै बस्छ । अनि पछि गएर मान्छे कुलत बानी हटछ ।’ रमदान महिनाको मुख्य उद्देश्य भनेको निराहार व्रत राखी सधै अनुशासित ढंगबाट जीवन बिताउनु रहेको मौलानाहरुको भनाइ छ ।
चन्द्रमा (चाँद ) किन हेरिन्छ ?
मुस्लिम समुदायले चान्द अर्थात चन्द्रमा देखेर यो पर्वको व्रत बस्न थाल्छन् । इस्लामिक महिना चन्द्रमा देखेपछि सुरु हुन्छ । मुस्लिम पराम्परामा समयको गतिलाई मापन गर्ने आधार चन्द्रमा हो ।
महिनाको समापन पनि चन्द्रकै गतिलाई हेरेर गरिन्छ । त्यही भएर रमजान महिना सुरु भयो भनेर जान्नको लागि चन्द्रमा देखिन्छ, यही देखेर यो पर्वको सुरुवात पनि हुन्छ । महिनाको समाप्ति पनि अन्त्यमा चन्द्रमामा हेरेर नै हुने भएकाले ३० औं दिनमा चन्द्रमा पुनः हेरिन्छ । महिना समापन भएको भेउ पाउन चन्द्रमा देखिने गरिएको बताइन्छ । मुख्यतः यही कारणले चन्द्रमा हेर्ने गरेको धर्मका जानकारहरु बताउँछन् ।
रोजा क–कस्ले गर्ने ?
धर्मको नियम अनुसार बालिग व्यक्तिलाई रोजा बस्न अनिवार्य गरिएको छ । यसबारे धार्मिक ग्रन्थमा भनिएको छ, ‘बालिग अर्थात स्वप्नदोष र रजश्वला भइसकेकालाई मान्नुपर्छ । यो भइसकेका मुस्लिम बालबालिकाहरुलाई रोजा बस्नु अनिवार्य हो । तर नाबालकलाई भने छुट दिइएको छ ।
यसैगरी रोगी, सिकिस्त बिरामी, गर्भवती र रजस्वला भएका महिलालाई त्यो पाँच दिनसम्म भने छुट दिइएको छ । यसैगरी यात्रा गर्दा बिरामी भएको अवस्थामा पनि रोजा बस्न अनिवार्य गरिएको छैन । तर यीमध्ये कुनै एक कारणबस व्रत बीचमा बे्रक भयोभने पछि आफूलाई पायक हुने महिनामा त्यसको साटो व्रत बसेर सट्टा भर्ना गर्ने नियम छ ।
के हो सेह्री र इफ्तार ?
सेहरी र इफ्तार यी दुई वाक्य अरबी वाक्य हुन् । यसलाई सामान्य भाषामा बुझ्ने हो भने उपवासको दिन अर्थात सूर्योदय भन्दा पहिला केही खाइन्छ, जसलाई सेहरी भनिन्छ । यसैगरी सूर्यास्त भएपछि केही खाएर व्रत तोडिन्छ, जसलाई इफ्तार भनिन्छ ।
शारिरीक सम्बन्ध राख्न नपाइने
रमजान महिनालाई मुस्लिम समुदायमा पवित्र महिना मानिन्छ । यो महिनामा सबैले अल्लाहको विशेष प्रार्थना गर्ने गर्दछन । रमदान अवधिभर बढी भन्दा बढी समय खर्चेर अधिकांशले कुरान र दिनमा पाँचपटक नमाज पढ्ने गर्दछन् ।
कारण– अन्य महिना भन्दा रमदानमा ७० गुणा बढी सबाब (पुण्य) पाइने धार्मिक मान्यता छ । त्यसैले सबैको ध्यान बढी पुण्य कमाउनेतर्फ केन्द्रित रहन्छ । व्रत बस्दा नमाज कुरान वाचनले व्रतलाई बलियो बनाउने भएको हुँदा मुस्लिम समुदाय बढी धार्मिक गतिविधि नै सक्रिय रहन्छ ।
रोजा अवधिभरि नै व्रत बस्नेहरु शुद्ध रहनुपर्ने कडा नियम छ । व्रत बस्नेहरु यो अवधीमा अश्लिल गफ मात्रै नभइ नाँचगानसहित कुनैपनि मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुन नपाइने कडा नियम छ ।
योसंगै व्रतको अवधिभरि दिनमा श्रीमान–श्रीमतीबीच कुनैपनि हिसाबले शारीरिक सम्बन्धसमेत राख्न नपाइने भनिएको छ । धार्मिक ग्रन्थहरुमा भनिएको छ, ‘यी सबै वर्जित काम गरियो भने रोजा भंग हुन्छ, त्यसकारण वर्जित गरिएका कुनै पनि काम नगर्नुहोला ।’ शारिरीक सम्बन्ध राख्नका लागि भने त्यसका लागि रातीको समयमा छुट दिइएको छ ।
दानपुण्यको पर्व
मुस्लिम समुदायमा यो महिनालाई दानपुण्य गर्ने महिनाको रुपमा लिने मान्यता छ । यो महिनामा अरुलाई सहयोग गरे त्यसको ७० गुणा बढी पुण्य पाइने धार्मिक मान्यता छ ।
रमजान महिनामा मुस्लिम समुदायले एक रुपैयाँ खर्च ग¥यो भने उसले ७० रुपैयाँ खर्च गरे सरहको फल पाउने विश्वास छ । त्यहीकारणले आफ्नो क्षमता अनुसार सबैले रोजाको समयमा दीन–दुःखीलाई खाना खुवाउने, लत्ताकपडा दिने, तथा आर्थिक सहयोग गर्ने गर्दछन् । यो महिनामा अझ रोजादार (व्रतालु ) लाई इफ्तार गराए गुनाह (पाप) बाट छुटकारा पाउने धार्मिक विश्वास छ ।
यसैगरी रमदानमा जकात, सदका, फित्रा भनेर केही रकम निकाल्ने धार्मिक नियम छ । वर्षभरिमा आफूले कमाएको सम्पतिबाट अढाई प्रतिशत रकम निकाल्नुपर्ने धार्मिक ग्रन्थमा भनिएको छ । रमजानको अन्तिमको दिन इ–दुल–फित्रको नमाज पढेर यसको समापन गरिन्छ, जसलाई चलनचल्तीको भाषामा ईद भनिन्छ ।