ट्रेन्डिङ

फागुन ७ मा राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज फागुन ७ का दिन ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ।

निरङ्कुश राणा शासनको अन्त्य गर्दै २००७ सालको जनक्रान्तिमार्फत प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइने गरिन्छ।

राणा शासनविरुद्धको आन्दोलनका क्रममा शहीद भएका दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसीहँसी जीवन उत्सर्ग गरेका थिए।

उनीहरूको बलिदानले देशमा प्रजातन्त्र स्थापना गर्ने मार्ग प्रशस्त गरेको मानिन्छ।

प्रजातन्त्र स्थापनापछि नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गर्दै आएका छन्।

संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य, मान्यता र अभ्यासलाई संस्थागत गर्ने आधार २००७ सालको जनक्रान्तिले तयार पारेको इतिहासविद्हरू बताउँछन्।

यस वर्षको मूल समारोह काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना हुँदैछ।

मूल समारोह समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौँ उपत्यकाका नगरप्रमुखहरू, मुख्य सचिव, प्रधान सेनापति तथा सुरक्षा निकायका प्रमुखहरू सदस्य छन्। गृह मन्त्रालयका सचिव सदस्य–सचिवको भूमिकामा रहेका छन्।

दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्ष राजनीतिक नेतृत्वले शहीदहरूको योगदानको स्मरण गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको संरक्षण तथा सुदृढीकरणका लागि प्रतिबद्ध रहन देशवासीमा अपिल गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै