ट्रेन्डिङ

पर्सा–१ मा चुनावी जंग : घर–घरमा उम्मेदवार, मतदाताको मन जित्ने निर्णायक भिडन्त

वीरगन्ज । २१ फागुनको निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी प्रतिस्पर्धा खुला मैदानमा उत्रिएको छ।

४ गतेदेखि औपचारिक प्रचारप्रसारको अनुमति पाएसँगै दलहरू अब प्रत्यक्ष मतदाताको दैलोमा पुगेका छन्।

बिहानैदेखि टोल–टोलमा झन्डा, नाराबाजी र उम्मेदवारको उपस्थितिले क्षेत्रको माहोल पूर्ण रूपमा निर्वाचनमय बनेको छ।

मंगलबार मात्रै क्षेत्रका विभिन्न वडाहरूमा प्रमुख दलका उम्मेदवारहरू एकसाथ घरदैलोमा देखिए।

नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवारहरू आ–आफ्ना एजेन्डासहित मतदातासामु पुगेका हुन्।

सहरी मत तान्न कांग्रेसको दौड

कांग्रेसका उम्मेदवार अनिल रुंग्टा वीरगञ्ज–२ छपकैयामा दलबलसहित घरदैलोमा उत्रिए।

बेरोजगारी, पूर्वाधार अभाव र युवाको पलायन मुख्य मुद्दा बनाउँदै उनले “अब परिणाम चाहिन्छ” भन्ने सन्देशसहित मत मागे।

सहरी मतदाता निर्णायक हुने आँकलन गर्दै कांग्रेसले संगठितरूपमा प्रचारलाई तीव्र बनाएको देखिन्छ।

इनर्वामा एमालेको शक्ति प्रदर्शन

एमालेका उम्मेदवार प्रदीप यादवले वीरगञ्ज–१६ इनर्वामा घरदैलो गर्दै विकास र स्थायित्वको नारा अघि सारे।

महिला, युवा र ज्येष्ठ नागरिकसँग छुट्टाछुट्टै छलफल गर्दै उनले आफू विकासको निरन्तरताको विकल्प भएको दाबी गरे।

एमालेले आफ्नो संगठन बलियो रहेको सन्देश दिन खोजेको प्रष्ट देखिन्छ।

घण्टी’ बजाउँदै रास्वपाको आक्रामक अभियान

रास्वपाका उम्मेदवार हरि पन्त वडा नम्बर–३२ मा घरदैलोका साथै पार्टी प्रवेश कार्यक्रमसहित मैदानमा उत्रिए।

सयौँ समर्थकलाई पार्टीमा भित्र्याउँदै उनले भ्रष्टाचार, बेथिति र बेरोजगारीविरुद्ध कडा अभिव्यक्ति दिए।

“पुराना अनुहारबाट परिवर्तन सम्भव छैन” भन्दै उनले ‘घण्टी’ चिन्हमा मतदान गर्न अपिल गरे।

युवापंक्तिको उत्साहले रास्वपाको अभियान थप आक्रामक देखिएको छ।

मधेस एजेन्डासहित जसपा

जसपा नेपालका उम्मेदवार रामनरेश यादव वीरगन्ज–३१ बेल्वामा घरदैलो गर्दै मधेस आन्दोलनका उपलब्धि जोगाउने प्रतिबद्धता दोहोर्‍याए।

पहिचान, अधिकार र सम्मानको राजनीतिलाई बलियो बनाउन जसपा नेपाललाई मत दिन उनले आग्रह गरे।

मधेस केन्द्रीत मुद्दा पुनः चुनावी बहसमा ल्याउने प्रयास स्पष्ट देखिन्छ ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका ३३ वर्षीय उम्मेदवार अजय चौरसियाले वडा नम्बर–१५ मा घरदैलो तथा मतदाता संवाद कार्यक्रम गरे।

परम्परागत दलप्रति असन्तुष्टि बढ्दै गएको दाबी गर्दै उनले आफूलाई वैकल्पिक शक्तिको रूपमा प्रस्तुत गरे।

पर्सा–१ का १९ वटै वडामा यतिबेला उम्मेदवारहरूको चहलपहल बढेको छ। बिहान घरदैलो, दिउँसो छलफल र साँझ टोलभेला चुनावी तालिका व्यस्त बन्दै गएको छ।

मतदातासमक्ष प्रत्यक्ष पुगेर विश्वास जित्ने होडमा दलहरू उत्रिएसँगै पर्सा–१ मा यसपटकको प्रतिस्पर्धा कडा र रोचक बन्ने संकेत देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै