वीरगन्ज । निर्वाचन नजिकिँदै जाँदा पर्सामा माहोल थप तातिएको छ ।
चुनावी सरगर्मीबिच पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनमत पार्टीप्रतिको ‘क्रेज’ अझै बढ्दो छ ।
यहाँ विभिन्न वडाका करिब दुई दर्जन जुझारु युवाहरूले पुराना राजनीतिक धार त्याग्दै आजदेखि जनमत पार्टी प्रवेश गरेका छन्।
उनीहरूले क्षेत्र नम्बर–१ मा ‘हरन’ चुनाव चिन्हलाई विजयी गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् ।
वीरगञ्ज–२० का शत्रुधन यादव र वीरगञ्ज–१३ का प्रन्जल ठाकुरको नेतृत्वमा युवाहरू जनमतमा प्रवेश गरेका हुन्। युवाहरूको यो कदमलाई क्षेत्रको राजनीतिक समीकरणमा अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ।
नवप्रवेशी युवाहरूलाई जनमत पार्टीका पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार ओमप्रकाश सरार्फले स्वागत गर्दै परिवर्तन र अधिकारको लडाइँमा युवा शक्ति निर्णायक बन्ने दाबी गरे। कार्यक्रममा नेतृ रम्भा मिस्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह तथा युवा महानगर अध्यक्ष अजित सिंह लगायतको उपस्थिति रहेको थियो।
नेताहरूले युवाहरूको सहभागिताले क्षेत्र नम्बर–१ मा जनमतको जित सुनिश्चित हुने दाबी गर्दै अबको चुनाव जनताको निर्णायक फैसला हुने बताएका छन्।