वीरगन्ज । प्रतिनिधि सभा सदस्यका लागि पर्सा क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले चुनावी अभियानलाई तीव्र बनाएका छन्।
निर्वाचन नजिकिँदै जाँदा उनले क्षेत्रका विभिन्न वडामा भेटघाट, छलफल तथा कार्यकर्ता भेलालाई निरन्तरता दिएका छन्।
यसैक्रममा चौरसिया पर्सागढी नगरपालिका वडा नम्बर–८ हरपुरमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएका छन्।
कार्यक्रममा स्थानीय अगुवा, पार्टीका जिम्मेवार कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो।
भेटघाटका क्रममा चौरसियाले आसन्न निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न संगठन सुदृढीकरण र घरदैलो अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेका थिए।
उनले क्षेत्रको विकास, पूर्वाधार विस्तार र जनजीविकासँग जोडिएका मुद्दालाई आफ्नो प्राथमिकतामा राखेको उल्लेख गर्दै एकताबद्ध भएर अघि बढ्न कार्यकर्तालाई आह्वान गरे।
चुनावी माहोल तातिँदै जाँदा चौरसियाको सक्रियता बढ्दै गएको देखिएको छ।
विभिन्न स्थानमा भइरहेको भेटघाट तथा कार्यकर्ता भेलाले पर्सा–२ मा कांग्रेसको अभियान थप गतिशील बन्दै गएको बताइएको छ।