वीरगन्ज । पर्सामा बैंकिङ प्रणालीको दुरुपयोग गर्दै २ अर्ब ४१ करोडभन्दा बढीको शंकास्पद कारोबार गरेको आरोपमा पक्राउ परेका एक हुन्डी कारोबारीलाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि जेल चलान गरेको छ।
गत १७ पुसमा पक्राउ परेका वीरगन्ज महानगरपालिका–१ निवासी प्रशान्तकुमार गुप्तालाई अदालतले बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
प्रहरीले सुरुवातमा गुप्तालाई करिब ५० हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको थियो।
त्यसपछि विभिन्न बैंक खाताको विस्तृत अनुसन्धान गर्दा उनको खातामार्फत २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३ सय रुपैयाँ बराबरको कारोबार भएको खुलासा भएको पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले जानकारी दिए।
प्रहरीका अनुसार प्रारम्भिक रूपमा सानो रकमसहित पक्राउ परेका गुप्ताको खातामा अस्वाभाविक ‘हेभी’ कारोबार देखिएपछि अनुसन्धानको दायरा विस्तार गरिएको थियो।
अनुसन्धानबाट बैंकिङ प्रणाली प्रयोग गरी ठूलो परिमाणमा रकम ओसारपसार गरिएको तथ्य खुलेको हो।
प्रहरी प्रतिवेदनअनुसार गुप्ताले भारतको रक्सौलबाट हुन्डीमार्फत नेपाली रुपैयाँ नेपाल भित्र्याई विभिन्न बैंक खातामा जम्मा गर्ने र त्यसपछि ती रकम अन्य व्यक्तिका खातामार्फत स्थानान्तरण गरी गैरकानुनी सम्पत्ति लुकाउने कार्य गर्दै आएका थिए।
प्रहरीले गुप्ताविरुद्ध २ अर्ब ४१ करोडभन्दा बढी बिगो दाबी गर्दै सङ्गठित अपराध, हुन्डी कारोबार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कारबाही अघि बढाएको जनाएको छ। सोही मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
साथै उनको खातामा रहेको ३३ लाख भन्दा बढी रकम जफत समेत भएको जनाइएको छ ।
यो प्रकरणले सीमावर्ती क्षेत्रमा सक्रिय हुन्डी सञ्जाल र बैंकिङ प्रणालीको दुरुपयोगबारे गम्भीर प्रश्न उठाएको छ।