बारा । बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि यस पटक कडा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा), नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच मुख्य भिडन्त केन्द्रित हुँदै गएको आम मतदाताको बुझाइ छ।
आम जनता पार्टीबाट विजय यादव, नेकपा एमालेबाट अच्युत मैलानी तथा नेपाली कांग्रेसबाट सम्भु बहादुर बुढाथोकी चुनावी मैदानमा उत्रिएका छन्।
तीनै उम्मेदवार क्षेत्रीय रूपमा परिचित तथा प्रभावशाली रहेकाले बारा–१ को चुनाव अत्यन्त प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ।
चुनावी अभियान तीव्र बन्दै जाँदा उम्मेदवारहरू घरदैलो अभियान, जनसम्पर्क र संगठन विस्तारमा सक्रिय देखिएका छन्।
उनीहरूले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन्।
स्थानीय मतदाताबीच विकास निर्माण, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, सडक तथा सिंचाइका विषय प्रमुख चुनावी एजेन्डाका रूपमा उठिरहेका छन्।
यी मुद्दामा उम्मेदवारहरूको प्रतिबद्धता र विगतको भूमिकालाई मतदाताले गम्भीर रूपमा मूल्यांकन गरिरहेको बताइन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार बारा–१ मा कुनै पनि दलको जित सहज देखिँदैन।
त्रिपक्षीय प्रतिस्पर्धाका कारण मत विभाजन हुने सम्भावना रहेकाले अन्तिम परिणाम अन्तिम समयसम्म अनिश्चित रहने देखिन्छ।
स्थानीय मतदाताले यस पटक पार्टीभन्दा पनि उम्मेदवारको कार्यसम्पादन, जनतासँगको सम्बन्ध, विकास दृष्टिकोण र भरोसाको आधारमा मतदान गर्ने तयारी गरिरहेको जनाइएको छ।
यसले बारा–१ को चुनावलाई अझ रोचक र निर्णायक बनाउने अपेक्षा गरिएको छ।