वीरगन्ज । नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुंग्टाले कमिशन र पदको लोभमा नभई क्षेत्रको विकास र जनताको सेवाका लागि उम्मेदवारी दिएको स्पष्ट पारेका छन्।
वीरगन्ज महानगरपालिका–३२ चोर्नीमा आयोजित मतदाता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुंग्टाले भने, “म नाम कमाउन होइन, पर्सा–१ को मुहार फेर्न चुनावी मैदानमा आएको हुँ।”
उनले जनताको हरेक दुःख–सुखमा सधैं साथमा उभिने प्रतिबद्धता जनाए।
क्षेत्रमा रहेको बेरोजगारी समस्यालाई मुख्य चुनौतीको रूपमा उल्लेख गर्दै रुंग्टाले उद्योग तथा कलकारखाना स्थापना गरेर युवालाई रोजगारी दिने ठोस योजना अघि सारे।
“युवालाई विदेश धकेल्ने होइन, आफ्नै माटोमा रोजगारी सिर्जना गर्ने मेरो संकल्प हो,” उनले भने।
कार्यक्रमका क्रममा विभिन्न दल परित्याग गर्दै २५ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नवप्रवेशी युवाहरुलाई उम्मेदवार रुंग्टाले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार रुंग्टाले मतदाता भेटघाट, घरदैलो तथा चुनावी अभियानलाई तीव्र पारेका छन्।
क्षेत्रभर देखिएको जनउत्साह र समर्थनले पर्सा–१ मा राजनीतिक माहोल तातिँदै गएको छ।