रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त घटनाले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्दै यसलाई अत्यन्त गम्भीर रूपमा लिइएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनसँग पूर्ण सहयोग गर्न पार्टी प्रतिबद्ध छ। कानुनी प्रक्रिया पूरा गरी पीडित परिवारलाई न्याय दिलाउन कुनै पनि कसर बाँकी राखिने छैन।’
साथै पीडित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन पार्टीस्तरबाट पहल भइरहेको जानकारी समेत दिइएको छ।
घटनापछि रास्वपाले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनको परिचालनमा थप सतर्कता अपनाउन निर्देशन दिएको छ।
पार्टी पङ्क्ति, उम्मेदवार तथा सवारी चालकहरूलाई सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकतामा राख्न कडा निर्देशन जारी गरिएको पार्टीले जनाएको छ।
उल्लेखनीय छ, बिहीबार चुनावी प्रचार–प्रसारका क्रममा रौतहट जिल्लाको ईशनाथ नगरपालिका–४, मठिया टोलमा पार्टी अभियानमा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट करिब ४ वर्षीया अलसा खातुनको मृत्यु भएको थियो।