काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षा निकाय औपचारिक रूपमा परिचालित भएका छन्।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारद्वारा स्वीकृत ‘एकीकृत सुरक्षा योजना–२०८२’ पूर्ण कार्यान्वयनमा आएको हो।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत कमाण्डमा मैदानमा उत्रिएका छन्।
निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी समेत सुरक्षाको अग्रपङ्तिमा खटिनेछन्।
सुरक्षा संरचनाअनुसार मतदानस्थलको भित्री घेरा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन्।
दोस्रो घेरा सशस्त्र प्रहरी बल नेपालको जिम्मामा रहनेछ भने तेस्रो तथा बाहिरी सुरक्षा घेरा नेपाली सेनाले सम्हाल्नेछ।
नेपाली सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि नै तैनाथी सुरु गरेको जनाएको छ। निर्वाचन सुरक्षाका लागि सेनाले ८० हजार जनशक्ति परिचालन गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार गत मंसिर ११ गते निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका थिए।
सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार आवश्यकताअनुसार सुरक्षा वेस खडा गरिने, संयुक्त गस्ती सञ्चालन हुने र संवेदनशील क्षेत्रको निगरानी कडा बनाइनेछ।
एकीकृत सुरक्षा योजना–२०८२ अनुसार निर्वाचनको एक महिना अघिदेखि नै फिल्डमा सेना परिचालन भइसकेको छ।
सेनाले निर्वाचन अवधिभर तीन चरणमा सुरक्षा जिम्मेवारी सम्हाल्नेछ।
निर्वाचनपूर्व मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थल सुरक्षा सेनाको मुख्य जिम्मेवारी रहनेछ।
साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा विमानस्थल, कारागार तथा अन्य संवेदनशील संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ।
मतदानका दिन नेपाली सेना तेस्रो सुरक्षा घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति दिलाउने गरी परिचालित हुने जनाएको छ।