काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको मूल्य आज भने बढेको छ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएसँगै बजारमा पुनः चहलपहल बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ।
यस्तै, एक तोला चाँदी पाँच हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार एक तोला छापावाल सुन दुई लाख ८६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने चाँदी प्रतितोला पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
एकै दिनमा सुन तीन हजार ७०० रुपैयाँ र चाँदी १३५ रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै त्यसको असर स्थानीय बजारमा परेको व्यवसायीहरू बताउँछन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा एक औँस सुन चार हजार ६८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ८० अमेरिकी डलर पुगेको छ।
मूल्यमा आएको यो वृद्धिले आगामी दिनमा बजारको दिशा कता जाने भन्ने विषयमा उपभोक्ता र लगानीकर्ताको चासो बढाएको छ।