ट्रेन्डिङ

निलम्बित सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आज पेसी

जनकपुर । मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि विशेष अदालतले पेसी तोकेको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासमा उक्त मुद्दा सुनुवाइका लागि पेशी तोकिएको हो।

पूर्व राज्यमन्त्रीसमेत रहेका सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको छ।

उपभोक्ता समितिका नाममा विनियोजन भई बैंक खातामा जम्मा भएको रकम स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकाई आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेको अभियोग सिंहमाथि छ।

अख्तियारले सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, विभा देवी खत्वे, शम्भुकुमार मण्डल, योगिन्दर महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अनुसन्धान अनुसार धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुना प्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीसँग १ लाख ८५ हजार २ सय ६० रुपैयाँ, अर्को उपभोक्ता समितिका अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीसँग ६ लाख ५७ हजार ७ सय रुपैयाँ बिगो कायम गरिएको छ।

त्यसैगरी, उपभोक्ता समितिका अध्यक्ष रामनाथ सहनी र कोषाध्यक्ष स्वीकृति देवीसँग २ लाख १४ हजार ३ सय ५० रुपैयाँ, माइस्थान मन्दिर सौन्दर्यीकरण उपभोक्ता समितिका अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष विभा देवी खत्वेसँग १ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।

रधवा पिपलदेखि सहसौला अनेरभाट हुँदै जनता प्रावि र लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण योजनामा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र कुमार झासँग १८ लाख ९१ हजार ९ सय रुपैयाँ तथा कोषाध्यक्ष मञ्जु देवी पासमानसँग २१ लाख ९३ हजार ८ सय १५ रुपैयाँ बिगो कायम गरिएको अख्तियारले जनाएको छ।

अभियोग पत्र अनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत विनियोजन भएको बजेटबाट महोत्तरी जिल्लाको क्षेत्र नं. ४ (ख) अन्तर्गत रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएका विकास योजनाबाट सिंहले कमिसन लिएको पुष्टि भएको छ।

उक्त योजनाअन्तर्गत देवी माहारानी सौन्दर्यीकरण, कञ्चनियामाई मन्दिर, माइस्थान मन्दिर, धर्मशाला निर्माण, सडक स्तरोन्नति तथा माटो ग्राभेल निर्माणलगायत योजनाका लागि गठन भएका उपभोक्ता समितिको नाममा लक्ष्मी बैंक (हाल लक्ष्मी सनराइज बैंक) मा जम्मा भएको कुल १ करोड २६ लाख २७ हजार ४ सय ८१ रुपैयाँमध्ये सिंहले औसत २८ दशमलव २५ प्रतिशतका दरले ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ कमिसन लिएको अख्तियारको दाबी छ।

अख्तियारका अनुसार उक्त रकम प्रतिवादी सिंहले प्रयोग गर्दै आएको आफ्नै र श्रीमती सरिता कुमारी महतो सिंहको संयुक्त खातामा जम्मा गरिएको पाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै