ट्रेन्डिङ

बारामा मध्यराति नरसंहार: धारिलो हतियार प्रहारबाट आमा–छोराको हत्या, एउटै परिवारका तीनजना गम्भीर घाइते

बारा । बाराको परवानीपुर गाउँपालिकामा मध्यराति भएको विभत्स घटनामा आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ भने सोही परिवारका थप तीनजना गम्भीर घाइते भएका छन्।

परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडी टोलमा बुधबार बिहान करिब २ बजेतिर अज्ञात व्यक्तिले घरभित्रै पसेर धारिलो हतियार प्रहार गरेको बारा प्रहरी जनाएको छ।

घटनामा रामेश्वर मण्डल र उनकी आमा सुमित्रा देवीको घटनास्थलमै मृत्यु भएको बारा प्रहरी प्रमुख (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए।

आक्रमणमा परी परिवारका अन्य सदस्य जगरुक मण्डल, छोरी रिना कुमारी र बुहारी मनिका देवी गम्भीर घाइते भएका छन्।

घाइते तीनैजनाको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट आक्रमणकारी घरपरिवारकै नजिकको व्यक्ति हुन सक्ने आशंका गरिएको छ।

यद्यपि, हत्याको कारण र संलग्न व्यक्ति अहिलेसम्म खुल्न सकेको छैन।

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने कार्य सम्पन्न गरिसकेको छ भने घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ।

मध्यराति एउटै परिवारमाथि भएको यस क्रूर घटनाले स्थानीय क्षेत्र स्तब्ध बनेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै