ट्रेन्डिङ

निर्वाचन प्रहरीका लागि पर्सामा दोब्बर बढीको आवेदन, महिला कति ?

वीरगन्ज । पर्सामा माग भन्दा बढी निर्वाचन प्रहरीको आवेदन परेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान गरिएको संख्या भन्दा दोब्बर बढीको आवेदन परेको छ ।

जिल्ला प्रहरी तथा सशस्त्र प्रहरी पर्साले उपलब्ध गराएको विवरण अनुसार ५ दिनभित्र निर्वाचन प्रहरीका लागि आवेदन दिनेको सङख्या दुइवटै निकायमा मागभन्दा दोब्बर बढीको आवेदन छ ।

निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जना आवेदन माग गरेको थियो । तर मागभन्दा दोब्बरले बढी अर्थात् पाँच हजार ९७७ जनाले आवेदन दिएका छन् ।

जिल्ला प्रहरीका डिएसपी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार पुष २५ गतेदेखि माघ १ गतेसम्ममा नेपाल प्रहरीतर्फबाट मात्र पाँच हजार ३९९ जनको आवेदन परेको छ ।

नेपाल प्रहरीले निर्वाचन प्रहरीका लागि दुई हजार ४६७ जना माग गरेको थियो, तर माग भन्दा दोब्बर आवेदन परेको छ । आवेदन दिनेहरुमा ८९९ महिलासहित चार हजार ५०० पुरुष रहेका डिएसपी बस्नेतले बताए ।

यस्तै सशस्त्र प्रहरीतर्फ ३८५ निर्वाचन प्रहरीको आवेदन माग गरिएकामा ५७८ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा ६१ जना महिला तथा ५१७ जना पुरुष रहेका सशस्त्र प्रहरी प्रमुख पुरनचन्द भट्टले जानकारी दिए ।

निर्वाचन प्रहरीमा विगतमा म्यादी प्रहरीको रूपमा खटिएका ६८७ जना पुरुष र १५३ जना महिलाको आवेदन परेको प्रहरी विवरण छ ।

यस्तै, पूर्वसुरक्षाकर्मीको तर्फबाट भने १२ जना पुरुष रहेका छन् भने विदेशी सैनिकबाट अवकाश प्राप्त गरेका एक जना रहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै