वीरगन्ज । पर्सा प्रहरीले चोरीको मोटरसाइकल डोर्याइरहेको अवस्थामा पक्राउ परेका व्यक्तिहरूको अनुसन्धान गर्दा चोरीमा संलग्न एक संगठित गिरोहको पर्दाफास गरेको छ।
प्रहरीले तीनवटा मोटरसाइकलसहित चोरी गिरोहका तीन जना ‘नाइके’लाई नियन्त्रणमा लिएको हो।
वीरगन्ज महानगरपालिका–१३ अन्तर्गत राधेमाइ क्षेत्रबाट शंकास्पद अवस्थामा मोटरसाइकल डोर्याइरहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा वीरगन्ज–१३ का साहिल कुमार रौनियार, श्यामबाबु ठाकुर र भारतको पूर्वी चम्पारण घर भई हाल वीरगन्ज–१३ मा बस्दै आएका रोशनकुमार गुप्ता रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट भारतीय नम्बर प्लेट (बीआर ०५ एक्यू ६९२४) नम्बरको एउटा मोटरसाइकल र नम्बर प्लेट नभएका थप दुईवटा मोटरसाइकल बरामद गरेको छ।
ती सबै मोटरसाइकल चोरीका भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार पक्राउ परेकाहरूलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
शंकास्पद गतिविधिबाट खुल्यो गिरोहको राज
प्रहरीका अनुसार घटना माघ ५ गते सोमबारको हो।
उक्त दिन राधेमाइस्थित सडकखण्डमा साहिल रौनियारले भारतीय नम्बर प्लेटको मोटरसाइकल डोर्याइरहेका थिए। मोटरसाइकल चलाउनुको साटो डोर्याइरहेको देखेपछि प्रहरीको ध्यान त्यतातर्फ गएको थियो।
जाँचका क्रममा उक्त मोटरसाइकलमा साँचो नभएको, तार काटिएको तथा नम्बर प्लेट हटाइएको अवस्था भेटिएपछि प्रहरीले थप अनुसन्धान थालेको प्रहरी प्रमुख पाठकले बताए।
उनका अनुसार सोही क्रममा बिक्रीका लागि तयारी अवस्थामा राखिएका थप दुईवटा मोटरसाइकल पनि फेला परेपछि चोरीमा संलग्न संगठित गिरोहको गतिविधि पुष्टि भएको हो।
प्रहरीले गिरोहका अन्य सदस्य र चोरीका थप सवारीसाधनबारे अनुसन्धान जारी रहेको जनाएको छ।