वीरगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक तथा पूर्वप्रधानमन्त्री माधव नेपालको उम्मेदवारीविरुद्ध रौतहट निर्वाचन कार्यालयमा परेको उजुरीलाई दरपिट गरिएको छ ।
रौतहट क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका नेता नेपालको उम्मेदवारी खारेजीको माग गर्दै सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराउन खोजेका थिए ।
मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार उजुरी लिएर आएका यादवले नेता नेपालमाथि भ्रष्टाचार मुद्दा विचाराधीन रहेको आधारमा उम्मेदवारी खारेज गर्न माग गरेका थिए । तर, संविधान र कानुनअनुसार कुनै पनि व्यक्ति दोषी प्रमाणित नभएसम्म उम्मेदवारी खारेज गर्न नमिल्ने भएकाले उक्त उजुरी दर्ता नगरी दरपिट आदेश दिइएको उनले जानकारी दिए ।
उनले भने, “उजुरीमा उल्लेख गरिएअनुसार नेता नेपालमाथि भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा छ। तर, अदालतबाट दोषी ठहर भइनसकेको अवस्थामा उम्मेदवारी खारेज गर्न कानुनी आधार नहुँदा उजुरी दर्ता गरिएन ।”
पूर्वप्रधानमन्त्री माधव नेपालमाथि विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको छ ।