वीरगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सामा उत्साहपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १०९ जनाले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन कार्यालय पर्साले जनाएको छ । कार्यालय पर्साका प्रवक्ता यादवप्रसाद जोशीका अनुसार चार सिटका लागि एक सयभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
जसअनुसार क्षेत्र नम्बर–१ मा ३०, क्षेत्र नम्बर–२ मा ३२, क्षेत्र नम्बर–३ मा २३ र क्षेत्र नम्बर–४ मा २४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।
चारै क्षेत्रमा कांग्रेस, एमाले, नेकपा, रास्वपा, जसपा नेपाल, जनमत पार्टी, राप्रपा, उज्यालो नेपाल, श्रम संस्कृति पार्टीसहित विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिएको छ ।
क्षेत्र नम्बर–१
यस क्षेत्रमा ३० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रमुख दलतर्फ कांग्रेसबाट अनिलकुमार रुंग्टा, एमालेबाट प्रदीप यादव, जसपा नेपालबाट रामनरेश यादव, रास्वपाबाट हरि पन्त, जनमतबाट ओमप्रकाश सर्राफ र नेकपाबाट अजय चौरसिया उम्मेदवार रहेका छन् ।
क्षेत्र नम्बर–२
क्षेत्र नम्बर–२ मा सबैभन्दा धेरै ३२ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट पूर्वमन्त्री अजयकुमार चौरसिया, एमालेबाट रिमा यादव, जसपा नेपालबाट अशोक टेमानी, रास्वपाबाट सुशिल साह कानु, जनमतबाट श्याम गुप्ता र नेकपाबाट मनोज चौधरी मैदानमा छन् ।
क्षेत्र नम्बर–३
यस क्षेत्रमा २३ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालयका अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी, एमालेबाट रुपेश पाण्डे, जसपा नेपालबाट कमोद निराला, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रामाकान्त चौरसिया र जनमतबाट माल्ती कुशवाहा प्रमुख उम्मेदवार हुन् ।
क्षेत्र नम्बर–४
क्षेत्र नम्बर–४ मा पनि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजाल, एमालेबाट जालिम मियाँ अन्सारी, रास्वपाबाट टेकबहादुर शाक्य, जसपा नेपालबाट कृपासिन्धु चौधरी र जनमतबाट सिमादेवी कलवार चुनावी प्रतिस्पर्धामा छन् ।
चारै क्षेत्रमा मुख्य दलका चर्चित अनुहारसँगै स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिले यसपटक पर्साको निर्वाचन प्रतिस्पर्धात्मक र रोचक बन्ने संकेत देखिएको छ ।