वीरगन्ज । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस पर्साका पूर्व सांसद अजय द्विवेदी टिकटबाट बाहिरिएका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारको सबैभन्दा बलियो दाबेदार मानिएका द्विवेदीलाई पार्टी केन्द्रीय समितिले टिकट नदिएको हो ।
टिकट नपाएपछि अन्य दलबाट उम्मेदवारी दिने अड्कलबाजी चलिरहेका बेला द्विवेदीले त्यसलाई अस्वीकार गरेका छन् ।
उनले पार्टी नछाड्ने र कांग्रेसकै उम्मेदवारलाई पूर्ण समर्थन गर्ने स्पष्ट सन्देश दिएका छन् ।
“म टिकट नपाए पनि पार्टी छोड्दिनँ । जसले टिकट पाउनु भएको छ, उहाँलाई पूरै सहयोग गर्छु,” द्विवेदीले भने ।
उनको घोषणालाई पर्सामा कांग्रेसभित्र देखिन सक्ने सम्भावित असन्तुष्टि चिर्दै एकताको सन्देश दिने कदमका रूपमा हेरिएको छ ।