काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता, २०८२ आजदेखि लागू गरेको छ।
आयोगका अनुसार सोमबार बिहान १२ बजेदेखि आचारसंहिता कार्यान्वयनमा आएको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले आचारसंहिता स्वीकृत गरी लागू गरिएको आयोगले जनाएको छ।
आचारसंहिता नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
आयोगले अर्को सूचना जारी नगरेसम्म आचारसंहिता सबै सम्बन्धित निकाय र व्यक्तिमा लागू हुने स्पष्ट पारेको छ।
यसअनुसार नेपाल सरकार तथा त्यसका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र तिनका पदाधिकारी, संघ तथा प्रदेश सरकार अन्तर्गतका निकाय र पदाधिकारी आचारसंहिताको दायरामा रहनेछन्।
यसैगरी स्थानीय तहका कार्यपालिका र सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, राजनीतिक दल तथा तिनका भ्रातृ संगठनहरूलाई पनि आचारसंहिता लागू हुनेछ।
निर्वाचन प्रक्रियामा प्रत्यक्ष संलग्न उम्मेदवार, सम्बन्धित व्यक्ति, राजनीतिक दलका निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समिति र अनुगमनकर्ताहरूलाई समेत आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ।
पर्यवेक्षण संस्था र पर्यवेक्षक, सञ्चार माध्यम, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, तिनका पदाधिकारी र कर्मचारी, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पनि आचारसंहिताको दायरामा परेका छन्।
त्यसैगरी मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना र तिनका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा कर्मचारीहरूलाई पनि पूर्णरूपमा आचारसंहिता लागू हुनेछ।
निजी क्षेत्रअन्तर्गतका बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्र, वस्तु तथा सेवा प्रदायक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, साथै आयोगले तोकेका अन्य निकाय र व्यक्तिलाई पनि आचारसंहिता बाध्यकारी हुने आयोगले जनाएको छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयन र पूर्ण पालनाका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।