ट्रेन्डिङ

जसपा नेपालले पर्साका तीन क्षेत्रमा उम्मेदवार टुंग्यायो, को कहाँ बाट भीड्दै ?

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका तीन निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुंगो लगाएको छ ।

पार्टीले २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै जिल्लाबाट सिफारिस भएको नामावलीअनुसार उम्मेदवार चयन गरेको हो ।

यसपटक जसपा नेपालले अघिल्ला निर्वाचनमा उम्मेदवार बनेका अधिकांश पुराना अनुहारलाई परिवर्तन गर्दै नयाँ अनुहारलाई अघि सारेको छ ।

पर्सा क्षेत्र नम्बर–१ बाट रामनरेश यादवलाई प्रतिनिधि सभाको उम्मेदवार बनाइएको छ ।

यादव यसअघि जसपा नेपालकै तर्फबाट पर्सा क्षेत्र नम्बर–२ (क) मा प्रदेश सभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

त्यसैगरी पर्सा क्षेत्र नम्बर–२ बाट उद्योगी अशोक टेमानीलाई उम्मेदवार बनाइएको छ ।

टेमानी पहिलोपटक प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएका हुन् ।

यसैगरी क्षेत्र नम्बर-४ मा कृपासिन्धु चौधरीले टिकट पाएका छन ।

पर्सा क्षेत्र नम्बर–३ को उम्मेदवार भने भोलि टुंगो लगाइने जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले जानकारी दिए ।

उनका अनुसार हालसम्म जिल्लाका तीन निर्वाचन क्षेत्रको उम्मेदवार मात्रै अन्तिम गरिएको हो ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा जसपा नेपालले पर्सा जिल्लाबाट एक सिटमा मात्र जित हासिल गरेको थियो ।

यसपटक भने पार्टीले संगठन सुदृढीकरण र नयाँ अनुहारको प्रयोगमार्फत नतिजा सुधार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै