ट्रेन्डिङ

मधेस सरकारले चालू आर्थिक वर्षको ६ महिनामा कति गर्‍योबजेट खर्च ? कुन कुन मन्त्रालयले दुइ डिजिटमा पनि गर्न सकेनन् खर्च ?

जनकपुर । मधेस सरकारले चालू आर्थिक वर्षको बजेट खर्चको अनुपात एकदम न्यून रहेको छ । चालू आर्थिक वर्षको बजेट खर्च अनुपात दुइ डिजिटमा समेत पुग्न सकेको छैन ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षमा कुल बजेटको ७ दशमलव ७१ प्रतिशत बजेट मात्रै खर्च भएको छ । साउनदेखि पुस मसान्तसम्ममा प्रदेश सरकारको पुँजीगत खर्च भने अझै न्यून रहेको आँकडा सार्वजनिक भएको छ । चालू आर्थिक वर्षको ६ महिनामा चालू र पुँजीगत गरी कुल ३ अर्ब ६२ करोड ३५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ ।

यसमा सबै भन्दा बढी चालू खर्चतर्फ २ अर्ब रकम खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुँजीगततर्फ भने १ अर्ब मात्रै अहिलेसम्म खर्च भएको जनाइएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखापाल मनोज झाका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा कुल बजेटमध्ये पुँजीगत खर्च ३ दशमलव ३६ प्रतिशत रहेको छ । चालू खर्चतर्फ भने त्यसको कुल बजेटमध्ये १५ दशमलव ५८ प्रतिशत रकम खर्च भइसकेको उनको भनाइ छ ।

कुनकुन मन्त्रालयको दुइ अंकमा छैन खर्च ?

मधेस सरकारले चालू आर्थिक वर्षको ६ महिना पुगिसक्दा पनि आफ्नो कुल बजेटको खर्च रकम बढाउँन सकेको छैन । कतिपय मन्त्रालयले त दुइ डिजिटमा समेत आफ्नो मन्त्रालयबाट रकम खर्च गर्न सकेका छैनन् । लेखा नियन्त्रक

कार्यालयका अनुसार ६ वटा मन्त्रालयले आफ्नो बजेटमध्येको रकम दुइ डिजिटमा पु¥याउन सकेको छैन । ती मन्त्रालयहरुले १ देखि ८ प्रतिशतसम्म मात्रै कुल बजेटको रकम खर्च गर्न सकेका छन् ।

आफ्नो कुल बजेटको कम खर्च गर्ने मन्त्रालयहरुमा खेलकुद तथा समाज कल्याण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, गृह सञ्चार तथा कानुन मन्त्रालय, उर्जा सिचाइँ तथा खानेपानी मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग मन्त्रालय रहेका छन् ।

चालू आर्थिक वर्षको ६ महिनामा उद्योग मन्त्रालयले ३ दशमलव शुना २प्रतिशत, कृषि मन्त्रालयले ६ दशमलव ४४प्रतिशत, उर्जा सिचाइँ मन्त्रालयले ५ दशमलव १५, भौतिक पूर्वाधार मन्त्रालयले ५ दशमलव ४६ र खेलकु्द मन्त्रालयले १ दशमलव २० प्रतिशत रकम मात्रै खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएकोृ छ ।

कुन कुन मन्त्रालयको बढी खर्च ?

चालू आर्थिक वर्षकै ६ महिनामा मुख्यमन्त्री कार्यालयसहित बाँकी मन्त्रालयहरुको खर्च अनुपताल तुलनात्मकरुपमा बढी छ । मुख्यमन्त्री कार्यालयले चालु र पुँजीगत गरी अहिलेसम्म १७ दशमलव ०५ प्रतिशत बजेट रकम खर्च गरिसकेको छ ।
त्यसैगरी सबै भन्दा बढी खर्च गर्ने मन्त्रालयमा अर्थ मन्त्रालयको अग्रस्थान छ । यो मन्त्रालयले अहिलेसम्म चालु र पुँजीगत दुबै गरेर २१ दशमलव ३१ प्रतिशत रकम खर्च गरेको विवरण छ । त्यसपछि बढी रकम खर्च हुने मन्त्रालयहरुमा शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालय रहेका छन् ।

शिक्षा मन्त्रालयले यो ६ महिनामा चालु र पुँजीगत गरी १० दशमलव २६, स्वास्थ्य मन्त्रालयले १२ दशमलव ३६, श्रम मन्त्रालयले १८ दशमलव ७७ प्रतिशत र वन तथा वातावरण मन्त्रालयले १६ दशमलव २० प्रतिशत रकम कुल बजेटबाट खर्च गरेको छ ।

कुल बजेट कति ?

मधेस सरकारले चालू आर्थिक वर्षको लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । यसमध्ये चालू तर्फ १६ अर्ब ७२ करोड भन्दा बढी बजेट छुटयाइएको छ भने पुँजीगततर्फका लागि ३० अर्ब २६ करोड बजेट विनियोजन गरिएको छ ।

यो कुल बजेट रकममध्ये अहिलेसम्म प्रदेश सरकारले चालु र पुँजीगत गरी ३ अर्ब ६२ करोड ३५ लाखको हाराहारीमा बजेट रकम खर्च गरेको छ । जेनजी आन्दोलन, प्रदेश सरकारको आन्तरिक विवादसहितका कारणले अझ बढी बजेट रकम खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखापाल मनोज झाको दाबी छ ।

यद्यपी, अघिल्लो वर्षको यही ६ महिनामा भने अझ कम बजेट रकम खर्च भएको आँकडा छ । अघिल्लो वर्षको ०८१ र ०८२ को पुस मसान्तसम्म प्रदेश सरकारले कुल बजेटको ५ दशमलव ६१ प्रतिशत रकम मात्रै खर्च गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै