वीरगन्ज । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र उम्मेदवार छनोटलाई लिएर अन्योल बढ्दै गएको छ।
जिल्ला तहबाट गरिएको सिफारिस र केन्द्रस्तरको दाबी फरकफरक दिशामा जाँदा पार्टीभित्र आन्तरिक तनाव देखिन थालेको हो।
जिल्ला कार्यसमितिले पर्सा–१ का लागि तीन नेताको नाम केन्द्रमा पठाइसकेको छ। सिफारिस सूचीमा पूर्वमुख्यमन्त्री लालबाबु राउत, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव र मधेस प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादव रहेका छन्।
तर यही क्षेत्रबाट निर्वाचित भइसकेका निवर्तमान सांसद तथा पूर्वमन्त्री प्रदीप यादव भने जिल्लाको सिफारिसमा परेका छैनन्।
यसअघि पार्टी विभाजनका बेला अशोक राई नेतृत्वको जसपामा रहेका यादव निर्वाचनको संघारमै पुनः जसपा नेपालमा फर्किएका हुन्।
सिफारिसमा नपरे पनि आफूलाई नै उम्मेदवार बनाइने विश्वास उनको छ।
उनका अनुसार हाल पार्टी एकीकरणको प्रक्रिया अघि बढेकाले उम्मेदवार छनोटको अन्तिम अधिकार केन्द्रीय समन्वय समितिकै हातमा रहनेछ।
पूर्वमन्त्री यादव भन्छन्, “पहिले फरक–फरक पार्टी भएकाले अलग–अलग सिफारिस भएका हुन्। अहिले एकीकरण भइसकेपछि केन्द्रले समग्र अवस्था हेरेर निर्णय गर्छ।”
जिल्लाको सिफारिस अन्तिम नहुने दाबी गर्दै उनले आफू पर्सा–१ बाट लगातार चुनाव जित्दै आएको आधार प्रस्तुत गरेका छन्।
उनका अनुसार पार्टीभित्र उम्मेदवारीका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया हो र यस्ता मतभेद समाधान गर्दै जसपा नेपाल एकजुट भएर चुनावमा जानेछ।
तर जिल्लास्तरका नेताहरू भने केन्द्रले जिल्लाको निर्णय बेवास्ता गरे स्वीकार्य नहुने अडानमा छन्।
जिल्ला अध्यक्ष रामनरेश यादवले औपचारिक रूपमा एकता सम्बन्धी पत्र नै नआएकाले हालको सिफारिस वैध रहेको जिकिर गरे।
“हामीले सिफारिस गरेका तीन जनामध्येबाटै उम्मेदवार हुनुपर्छ,” उनले भने, “यदि बाहिरबाट निर्णय आयो भने जिल्लाले विरोध गर्नेछ।”
यसरी पर्सा–१ मा जसपा नेपालको उम्मेदवार को बन्ने भन्ने प्रश्नले अझै स्पष्ट दिशा नलिँदा पार्टीभित्रको आन्तरिक रस्साकस्सी सार्वजनिक रूपमा देखिन थालेको छ।