ट्रेन्डिङ

निर्वाचन तयारी तीव्र, आजदेखि १६५ निर्वाचन क्षेत्रमा अधिकृतको कार्यालय सक्रिय

काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले प्रशासनिक तयारीलाई औपचारिक रूप दिएको छ।

आयोगले आजदेखि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सञ्चालन सुरु गरेको हो।

उम्मेदवारी दर्ता प्रक्रिया नजिकिँदै गर्दा आयोगले निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाउन सम्बन्धित क्षेत्रमै कार्यालय खोलेर कर्मचारी परिचालन गरेको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ६ माघमा उम्मेदवारी मनोनयन हुने कार्यतालिका रहेकाले त्यसअघि नै आवश्यक पूर्वाधार तयार पारिएको आयोगको भनाइ छ।

निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता श्रीस पुनका अनुसार सबै निर्वाचन क्षेत्रमा एकै दिन कार्यालय सञ्चालनमा ल्याइएको हो।

यसका लागि आयोगले ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृतको नियुक्ति गरिसकेको छ।

एक निर्वाचन क्षेत्रको सम्पूर्ण निर्वाचन प्रक्रिया हेर्ने जिम्मेवारी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई दिइएको छ।

जिल्ला न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृतका रूपमा खटाइएका छन् भने न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरू निर्वाचन अधिकृतको भूमिकामा रहनेछन्।

न्याय परिषद्सँग परामर्श गरेर आयोगले यी अधिकृतहरूको टुंगो लगाएको जनाएको छ।

आयोगका अनुसार समयमै कार्यालय सञ्चालनमा आएसँगै उम्मेदवारी दर्तादेखि निर्वाचन प्रक्रिया थप व्यवस्थित र विश्वसनीय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै